तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा नौ महिनामा १२ जना सुत्केरीको मृत्यु

बाँके । चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा १२ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न गाउँपालिकाका छन् ।

जिल्लाको खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्ती सोनारी र नरैनापुरमा १–१ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मेडिकल सिटी भनिए पनि नेपालगन्जमा सुत्केरीको मृत्यु धेरै भएको देखिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन विष्णु श्रेष्ठका अनुसार घरनजिकै ठूलाठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ । उहाँले पहिला सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो अहिले भने सुत्केरी भइसकेपछि मृत्यु भइरहेको पाइएको बताउनुभयो ।

फोकल पर्सन श्रेष्ठले भन्नुभयो “बच्चा पाएको ४२ दिन सम्मलाई सुत्केरी मानिन्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको छ ।” स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अधिकांश गर्भवतीले आठ पटक गर्भ जाँच पनि नगरेको देखिएको छ । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौँमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button