तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाको अवस्था सुधार हुन नसकेकोप्रति चिन्ता व्यक्त

सुर्खेत । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले कर्णालीमा महिला तथा बालबालिकाको अवस्था सुधार हुन नसकेकोप्रति चिन्ता जाहेर गर्नुभएको छ ।

वीरेन्द्रनगरमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउने विषयमा प्रदेश सभा सदस्य र संसदीय समितिका सभापतिहरूसँगको अन्तरक्रियामा अध्यक्ष पराजुलीले प्रहरीमा दर्ता गरेको मुद्दाको सङ्ख्याले पनि कर्णालीमा महिला तथा बालबालिकामाथि भएका अपराधको अवस्था चिन्ताजनक रहेको बताउनुभयो ।

हिंसापीडित महिला तथा बालबालिकाको अवस्थामा सुधार ल्याउनका लागि तीनै तहका सरकारहरूले योजनाबद्ध तरिकाले कर्णालीमा काम गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

कर्णाली प्रदेशभरि पछिल्लो दुई आर्थिक वर्षमा २ हजार ६ सय १६ महिला आफ्नै परिवार, श्रीमान् र छिमेकीबाट घरेलु हिंसामा परेको प्रहरीको तथ्याङ्क छ ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले घरेलु हिंसा जस्ता कुरीतिविरुद्ध राजनीतिक दलहरूसँगै विभिन्न सामाजिक संघ, संस्थाहरूसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button