तपाईँ सुन्दै हुनुहुन्छः

कारागारलाई सुधार गृहका रुपमा रूपान्तरण गराउन जरुरी : गृहमन्त्री लामिछाने

बाँके । उपप्रधान एवम् गृहमन्त्री रबी लामिछानेले कारागारलाई यातना गृहका रुपमा नभई सुधार गृहका रुपमा रूपान्तरण गराउन जरुरी रहेको बताउनुभएको छ । 

बाँकेको बैजनाथ गाउँपालिका वडा नं‍.३ स्थित नौबस्ता कारागारको आज उद्घाटन गर्नुहुँदै गृहमन्त्री लामिछानेले कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्नका लागि सरकार सचेत रहेको बताउनुभयो । 

गृहमन्त्री लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद् हुन नहुनेमा सरकार गम्भीर रहेको बताउनुभयो । “कैदीको कैद मिनाहा माफीमा कुनै विभेद हुनुहुँदैन, आवाज र पहुँच भएको आधारमा होइन असल आचरण र कानुनले तोकिएको मापदण्ड पूरा गरेको जोसुकै कैदी बन्दीहरू नियमानुसार छुट्नुपर्छ, यो उनीहरूको अधिकार हो ।” उहाँले कारागारमा रहेका कैदी बन्दीहरूले अपराध गरेभन्दा अन्य थप सजाय पाउन नहुने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले कैदी बन्दीहरूले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझैपनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गर्नुहुँदै पारिवारिक तथा सामाजिक जीवन बिताउनका लागि परिवार तथा समाज सचेत बनी मानसिक रुपमा परिवर्तन हुनुपर्ने बताउनुभयो ।

आर्थिक चलखेल र राजनीतिक दबाबबाट माफी मिनाहाका लागि सिफारिस आइरहने गरेको भन्दै उहाँले मातहतका निकायलाई यस्तो किसिमको सिफारिस नगर्न निर्देशन समेत दिनुभयो ।

सुविधा सम्पन्न नौबस्ता कारागारको उद्घाटन भएसँगै यहाँ कैदीबन्दीहरू कारागारहरूमा कोचाकोच गरेर बस्नु पर्ने बाध्यताको अन्त्य हुने आशा गरिएको छ, देशभरबाट कैदीबन्दीहरूलाई यहाँ स्थानान्तरण गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ । ९ बिगाहा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदीबन्दी रहन सक्ने गरि ४ वटा ब्लकमा निर्माण गरिएको छ ।

कारागार उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री दिनेश पन्थी लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । 

कार्यक्रममा बाँकेका सुरक्षा निकायका प्रमुख, तथा प्रतिनिधि, कारागार कार्यालयका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button