तपाईँ सुन्दै हुनुहुन्छः

‘मुलुकको समृद्धिका लागि नेकपा एमालेको विकल्प छैन’

वीरगञ्ज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय स्वाधीनताको रक्षा र मुलुकको समृद्धिका लागि नेकपा एमालेको विकल्प नभएको बताउनु भएको छ ।

नेकपा एमाले पर्साको ९ औ जिल्ला अधिवेशनको आज वीर गन्जमा उद्घाटन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको मिचिएको भूमि फिर्ता ल्याउने अभियानमा एमाले दृढसंकल्पित भएको बताउनुभयो ।

उहाँले भारतसँग आँखा जुधाएर समान व्यवहारको अपेक्षा गर्ने पार्टी एमाले भएको बताउँदै छिमेकी फेर्न नसकिने हुँदा नेपाललाई मित्रवत् व्यवहार गर्न भारतलाई आग्रह गर्नुभयो ।

उहाँले अघिल्लो गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको कारण नयाँ गठबन्धन बनेको दाबी गर्दै यो गठबन्धनको सरकारलाई अलमलिने र जनतालाई निराश बनाउने छुट नभएको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउने गरी काममा लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुहुँदै नेकपा एमाले राष्ट्रिय शक्तिको रुपमा स्थापित भएको हुँदा एमालेलाई अब जनताले निर्णायक बिन्दुमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।

उहाँले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताउनुभयो ।

कार्यक्रमका नेकपा एमालेका मधेश विभाग इन्चार्ज योगेश भट्टराईले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, सङ्गठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताउँदै मधेशमा एमालेलाई एक नम्बर पार्टी बनाउने नेतृत्व चयन गर्न पर्सा एमालेका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरूलाई पनि सुदृढ गर्नुपर्ने कुरामा जोड दिनुभयो । नेकपा एमाले पर्साको नयाँ नेतृत्व चयनका लागि भोली बिहान ८ बजे देखि बन्द सत्र शुरु हुने भएको छ ।

नेकपा एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, अच्युत मैनाली, लिलानाथ श्रेष्ठ, मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रभु हजारा, निर्मला देवकोटा लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button