तपाईँ सुन्दै हुनुहुन्छः

खुल्ला दुआथलन च्याम्पियनसिप : हिमाल र मञ्जुलाई उपाधि

पोखरा । पोखरामा आइतबार सम्पन्न भएको खुल्ला दुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्काले उपाधि जित्नुभएको छ ।

पोखराको लेक साइडमा भएको साँढे सात किमी सडक दौड र २० किमी साइक्लिङको निर्धारित दूरी टमटाले ५१ मिनेट २४ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभयो ।

नेपालकै नवराज न्यौपाने दोस्रो हुनुभयो । उहाँले उक्त दुरी १ घण्टा ३ मिनेट ४७ सेकेण्डमा पार गर्नुभयो । लक्ष्मण मल्लले १ घण्टा ४ मिनेट ५८ सेकेण्डमा उक्त दुरी पार गरी तेस्रो हुनुभयो । विजेता खेलाडीहरूले मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।

नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा पर्यटनको राजधानी तथा खेलकुदको शहर पोखरामा खुल्ला तथा राष्ट्रिय दुआथलन च्याम्पियनसिप आयोजना भएको हो ।

यसैगरी महिलातर्फको ‘ओपन’ तथा राष्ट्रिय च्याम्पियनसिपको उपाधि विजेता मञ्जुकुमारी खड्काले निर्धारित दूरी १ घण्टा १९ मिनेट ४५ सेकेण्डमा पूरा गर्नुभयो । पुष्पा रोकायले १ घण्टा २३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेर द्वितीय बन्दा प्रमिला धमलाले १ घण्टा २८ मिनेट ३४ सेकेण्डमा सो दूरी पूरा गरी तेस्रो हुनु भएको हो ।

यसअघि प्रतियोगिताको शुभारम्भ गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमानले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button