तपाईँ सुन्दै हुनुहुन्छः

‘तत्काल बाम एकताको सम्भावना छैन’ : एमाले महासचिव पोख्रेल 

बाँके । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले तत्काल बाम एकताको सम्भावना नरहेको बताउनु भएको छ । उहाँले विगतमा जस्तो कुनै नेताको चाहानामा एकता भइहाल्ने अवस्था नभएको स्पष्ट पार्नुभएको छ।

नेकपा एमालेको कोहलपुर नगर अधिवेशनलाई सम्बोधन गर्न कोहलपुर आइपुग्नुभएका महासचिव पोखरेलले नयाँ सत्ता समीकरणलाई कतिपयले पाटी एकताको पूर्व तयारीका रूपमा बुझ्ने गरे पनि त्यस्तो बुझाइ गलत हुने बताउनुभएको छ । नेकपा एमाले कोहलपुर नगर कमिटीको दोस्रो नगर अधिवेशन उद्‌घाटन गर्दै महासचिव पोखरेलले तत्काल बाम एकताको सम्भावना नरहेको बताउनुभएको हो । पहिलेजस्तो बाम एकताको कुरा पनि यदा कदा उठ्‌ने गरेको बताउँदै उहाँले अहिले तत्कालका लागि त्यो सम्भावना नरहेको बताउनुभयो ।

एमालेले तत्कालका लागि एकतालाई प्राथमिकतामा राखेको छैन, उहाँले भन्नुभयो–‘अब कुनै नेताको चाहानाले मात्र पाटी एकता हुँदैन । एकता गर्नुपरे सम्पूर्ण नेता कार्यकर्ताको भावना बुझेर मात्र एकता प्रक्रिया अगाडि बढ्छ ।’ 

महासचिव पोखरेलले एमालेलाई एउटा सशक्त वैचारिक सङ्गठनका रूपमा अगाडि बढाउनु अहिलेको आवश्यकता भएको बताउँदै उहाँले वैचारिक रूपमा स्पष्ट र प्रतिबद्ध हुन पनि कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । एमाले विभाजन गराउन ठूलो चलखेल भएको बताउँदै उहाँले हिजो ठूलो षड्यन्त्र र चलखेल गरेर पार्टी विभाजन गर्नेहरू आज पछुताउनु परिरहेको बताउनु भयो। विखण्डनकारी प्रवृत्तिहरूबाट सधैँ सचेत रहनुपर्ने महासचिव पोखरेलको भनाइ थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button