तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनको सुरक्षा व्यवस्थापन पूरा

काठमाडौँ । आसन्न इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क)मा हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको छ । 

प्रहरी प्रधान कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको आवश्यक सुरक्षा व्यवस्थापन कार्य तयारी पूरा भएको जानकारी दिइएको हो ।  

केन्द्रीय प्रहरी प्रवक्ता  प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि ‘उपनिर्वाचन सुरक्षा योजना–२०८१’ तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । 

“निर्वाचनको क्रममा देखिन सक्ने सुरक्षा चुनौतीलाई सूक्ष्म अध्ययन गरी आम मतदातालाई ढुक्क भएर आफ्नो अधिकार प्रदान गर्ने वातावरण निर्माणमा प्रहरी जुटेको छ”, उहाँले भन्नुभयो । प्रहरीले मतदाता र मतदान स्थलदेखि मतगणना स्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको उहाँको भनाइ छ ।

प्रवक्ता ढकालले उपनिर्वाचनलाई सुरक्षा प्रदान गर्नका लागि आवश्यक बन्दोवस्तीका सामग्रीका साथ प्रहरी मतदान केन्द्र र मतदान स्थलमा खटिइसकेको जानकारी दिनुभयो । निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न लागि प्रहरीले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको उहाँको भनाइ छ ।

प्रहरीले उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार तीन सय ८७ प्रहरी जनशक्ति परिचालन गरेको छ । निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदान स्थलका एक सय ४९ मतदान केन्द्रमा एक हजार तीन सय ६३ प्रहरी परिचालन गरेको छ । प्रहरीले इलाममा ३७ केन्द्रलाई अति संवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रूपमा लिएको छ । प्रहरीले अति संवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ ।

बझाङ प्रदेशसभा(क) को ७४ मतदान स्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी जनशक्ति परिचालन गरेको छ । सो क्षेत्रमा ३२ केन्द्रलाई अति संवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रूपमा रहेको जनाइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button