तपाईँ सुन्दै हुनुहुन्छः

मौरी पालन व्यवसायमा मोरङका किसानको आकर्षण बढ्दै

विराटनगर । मोरङ उर्लाबारी नगरपालिका–४ विशाल टोलका सविन खड्काले मौरी पालन व्यवसाय सुरु गरेपछि उहाँको दैनिकीमा परिवर्तन आएको छ । 

सात वर्ष अघि एउटा घारबाट मौरी पालन सुरु गर्नुभएका खड्कासँग अहिले ६० वटा मौरीका घार छन् ।  यी घारबाट वार्षिक १५ क्विन्टल मह उत्पादन हुनेर उक्त मह प्रति केजी एक हजार रुपैयाँमा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । 

सुरुमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरी पालन व्यवसाय अहिले धेरै बिस्तार भएको उहाँ बताउनुहुन्छ । पहिले धार्मिक कार्यमा मात्र प्रयोग हुँदै आएकोमा कोरोनापछि आयुर्वेदिक औषधिको रूपमा महको सेवन गर्नेको सङ्ख्या बढेकाले बजारको अभाव नभएको उहाँ बताउनुहुन्छ ।  वर्षायाममा मौरी पालनको चरनमा केही समस्या भए पनि अन्य समयमा यो व्यवसाय गर्न सहज हुने उहाँको अनुभव छ  । 

त्यसैगरी, अर्का किसान भोलाराम पोखरेलले मौरी पालन व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । जग्गा जमिन नभएको अवस्थामा १२ वर्षदेखि सुरु गरेको व्यवसायले घरपरिवार धानिरहेको र मौरी पालनबाट राम्रो फाइदा हुने गरेको पोखरेलको भनाई छ । केही दिनअघि ३२ घारबाट मह निकाल्दा २ सय ४० केजी मह उत्पादन भएको उहाँले सुनाउनुभयो ।

मोरङ जिल्लामा २०७२ सालमा जिल्ला कृषि विकास कार्यालयले २० जना किसानलाई मौरी पालन व्यवसायप्रति किसानलाई आकर्षित गराउन  विभिन्न सामग्री वितरण गरेको थियो । 

मौरी पालनबाट राम्रो आम्दानी हुन थालेपछि  जिल्लामा  अहिले मौरी पालन व्यवसाय निकै विस्तार भएको छ । जिल्लामा अहिले ३० हजारभन्दा बढी मोरीको घार रहेको र यो व्यवसायमा ५ सयभन्दा बढी किसान आबद्ध रहेको नेपाल मौरी पालन महासङ्घ मोरङका अध्यक्ष वोदराम खतिवडाले बताउनुभयो । 

असार, साउनमा एक पटक चास्नी दिने र रानी उत्पादन गर्दा हेरविचार गरे पुग्ने भएकाले कम समय र कम मेहनतमा मौरी पालन गर्न सजिलो हुने गरेकाले यो व्यवसाय फस्टाएको हो ।

थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि जिल्लामा मौरी पालनतर्फ किसानको आकर्षण बढ्दै गएकाले  जिल्लामा महको उत्पादन पनि वृद्धि हुँदै गएको छ ।

जिल्लामा उत्पादित मह स्थानीय बजारका साथै छिमेकी जिल्लामा खपत हुने गरेको छ । जगंलको श्रोतको मह स्टक नभए पनि तोरी, फापर, फिलिङ्गे श्रोतको मह केही स्टक हुने गरेको अध्यक्ष खतिवडाले बताउनुभयो  ।

मौरी पालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि फूल तथा बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको उहाँको भनाई छ ।  फापर,फिलिङ्गे, सिलाम, सूर्यमुखी, चिउरीलगायत बोटबिरुवा मौरी चरनका लागि उपयुक्त हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र मोरङले केही पालिकाहरूमा यसअघि मौरी पालनका लागि पकेट तथा ब्लक कार्यक्रम सञ्चालन गरेको थियो । कार्यालयका अनुसार गत वर्ष मोरङ जिल्लामा १८ देखि १९ हजार घारमा मौरी पालन हुँदै आएकोमा यो वर्ष घारको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।

कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले मोरी पालन व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएकाले आगामी आर्थिक वर्षदेखि जिल्लामा मौरी जोन कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको  बताउनुभयो  ।

मौरी जोन कार्यक्रम सञ्चालनका लागि कार्यालयले मन्त्रालयमा सिफारिस गरिसकेको र जोन सञ्चालनमा आएपछि महको प्याकेजिङ, गोदाम घर निर्माण तथा महका विभिन्न परिकार बनाउन तथा चरनका लागि घार ढुवानी गर्न किसानलाई सहयोग पुग्ने उहाँले बताउनुभयो । 

मोरङ जिल्लाको उर्लाबारी, केराबारी, लेटाङ, रङ्गेली, पथरी–शनिश्चरे, बेलबारी तथा कानेपोखरी लगायतका पालिकाहरूमा यो व्यवसाय बढी मात्रामा फस्टाउँदै गएको कार्यालय प्रमुख सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button