तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा खुल्ला भलिबल प्रतियोगिता तथा महोत्सव हुँदै

बैतडी । बैतडीमा जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला(महिला तथा पुरुष) भलिबल प्रतियोगिता हुने भएको छ ।

नेपाल खेलकुद महासङ्घले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहका खेलाडीबीच महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने बताइएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिता आगामी ३ जेठमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा उद्घाटन गरिने महासङ्घका जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयो ।

प्रतियोगितासँगै पर्यटन महोत्सवको समेत आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिताको उद्घाटन सत्रमा बैतडीमै जन्मीएका वरिष्ठ गायक तिलक सिंह पेला, महेश कुमार औजी, शेरी औजी, भानुभक्त जोशी लगायतका कलाकारहरूलाई आमन्त्रण गरिने महासङ्घका जिल्ला इन्चार्ज मनोज ठकुराठीले बताउनुभयो । करिब १ सातासम्म सञ्चालन हुने महोत्सवमा जिल्लामा भलिबलको विकासका लागि योगदान दिएका व्यक्ति, कलाकारहरूलाई अभिनन्दन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता तथा महोत्सव निङ्गलाशैनी भगवती मन्दिरको खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button