तपाईँ सुन्दै हुनुहुन्छः

आम जनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यक : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आम जनताको बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी कम्पनिज् (नास–आइटी)का पदाधिकारीसँगको भेटमा उहाँले सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर मुलुकको डिजिटल रुपान्तरणका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मन्त्री शर्माले नेपालमा सञ्चार तथा सूचना प्रविधिको विकासका लागि यसलाई आम जनताले बुझ्ने गरी स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधिको महत्व र औचित्य आम जनताले महसुस गर्ने गरी स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधिको महत्व केही प्राविधिक व्यक्तिहरूले मात्रै बुझ्ने र बाँकीले आफूलाई उपभोक्ताको रुपमा मात्र लिने भन्दा पनि सबैले सूचना प्रविधि क्षेत्र लाई आत्मसात गर्ने गरी यसको विकास गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । अब सुशासन र समृद्धिको आधार नै सञ्चार तथा सूचना प्रविधि क्षेत्र भएकाले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

छलफलमा प्रतिनिधिसभा सदस्य मनिष झाले सूचना प्रविधि क्षेत्रलाई समुदाय स्तरमा पुर्‍याएर हरेक विद्यालयमा यसलाई प्रतिस्पर्धाको विधा बनाउनुपर्ने बताउनुभयो । सूचना प्रविधिमा विद्यालय तह हुँदै प्रदेश र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराएर लाखौँ युवाहरूलाई देशभित्रै रोजगार र स्वरोजगार बनाउन सकिने उहाँले स्पष्ट गर्नुभयो ।

नास आइटीका पदाधिकारीहरूले पालिका स्तरमा हरेक नागरिकको एकीकृत तथ्याङ्क व्यवस्थापन गर्ने गरी एकीकृत डाटा केन्द्र स्थापना गर्नुपर्ने, नेपाली आइटी कम्पनीहरूले देशबाहिर शाखा स्थापना गर्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने, आइटी उद्योग र स्टार्टअपहरूलाई प्राथमिक क्षेत्रको ऋणको वर्गको समावेश गर्नुपर्ने, सूचना प्रविधिको काम एकद्वार प्रणालीबाट गर्न आइटी बोर्ड स्थापना गर्नुपर्ने, आइटी पार्क र हब स्थापना गरेर एकै थलोबाट सूचना प्रविधिको काम गराउन सरकारले सहजीकरण गर्नुपर्ने, सरकारी निकायका लागि सफ्टवेयर खरिद गर्दा स्थानीयलाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।

छलफलमा नास–आइटीका अध्यक्ष रिचन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button