तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व छलेर भित्र्याइएको १ करोड बढी मूल्यको कपडा बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजको तुलस्यान बजारमा छापामारी भन्सार छली भित्र्याइएको १ करोड २० लाख मूल्य बराबरको भारतीय कपडा बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले हिजो साँझ वीरगंज महानगरपालिका वडा नम्बर ६ स्थित पम्पम बिल्डिङमा स्थित तुलस्यान बजारमा कोठा भाडामा लिई भण्डारण गरी राखिएको अवस्थामा सो मूल्य बराबरको कपडा बरामद गरी आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा पर्सा प्रहरीका प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले अवैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भण्डारण गरी राखेको अवस्थामा बीरगंज महानगरपालिका वडा नम्बर ६ बस्ने ४४ वर्षीय राम एकवाल कुशवाहाको पम्पम बिल्डिङ स्थित गोदामबाट १ टन अन्दाजी ४० लाख मूल्य बराबरको कपडा बरामद भएको बताउनु भयो । 

त्यसैगरी सोही बजारमा रहेको वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने २४ वर्षीय आकाश कुमार गुप्ताको गोदामबाट २ टन करिब ८० लाख मूल्य बराबरको कपडा बरामद भएको प्रवक्ता थापाले बताउनु भयो ।

बरामद कपडा थप कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button