तपाईँ सुन्दै हुनुहुन्छः

तिला गाउँपालिका जुम्लाकै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा

जुम्ला । जुम्लाको तिला गाउँपालिका जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । यहाँका आठ वटा स्थानीयतह मध्ये तिलालाई जिल्लाकै पहिलो पालिकाका रुपमा बिहीबार पुर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । 

जन्मेदेखि १५ महिनामुनिका सबै बालबालिकालाई पुर्णखोपको पहुँचमा ल्याई हरेक वर्ष गरिने पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम अन्तरर्गत यस वर्ष तिला गाउँपालिका पहिलो बनेको हो । 

हरेक वर्ष खोप उमेर समूहका सबै बालबालिका पुर्णखोपको पहुँचमा आए नआएको अनिवार्य सुनिश्चितता गर्ने शत प्रतिशतले खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता पालिका हुँदै जिल्ला घोषणा गर्ने सरकारी कार्यक्रम छ । 

सोहीअनुसार तिलाका जन्मेदेखि १५ महिना उमेर समूहका ३९० जना र १६ महिनादेखि देखि ५ वर्षमुनिका ९२७ जना बालबालिका पुर्णखोपको पहुँचमा पुगेसँगै पालिकालाई बिहीबार जिल्लाकै पहिलो खोप सुनिश्चितता घोषणा गरिएको तिला गाउँपालिका खोप फोकल पर्सन उत्तम देवकोटाले बताउनुभयो । उहाँका अनुसार भौगोलिक रुपमा विकट तिलाका बालबालिकादेखि सबै नागरिकलाई स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धि गर्न पालिकाले विशेष प्राथमिकता दिँदै आएको छ । 

तिलाका ९ वटै वडाका खोप उमेर समूहका कुनै पनि बालबालिका खोप लगाउनबाट नछुटेको पक्का भएसँगै जिल्ला जनस्वास्थ्य कार्यालय स्वास्थ्य शाखा लगायतको समन्वयमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने नारा समेत तय गरिएको छ । 

तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्क रावतले ९ वटै वडाका समन्वय,स्वास्थ्य संस्थाको सहयोगले पहिलो पूर्णखोप सुनिश्चितता घोषण गर्न सफल भएको बताए । जिल्ला समन्वय समितिका सदस्य नरविर सुनारले जिल्लाका अन्य पालिकाले पनि पुर्णखोप सुनिश्चितताको कार्यक्रमलाई अघि बढाउनु पर्ने बताउनुभयो । भौगोलिक रुपमा विकट तिलाले पछिल्लो समयमा स्वास्थ्य सेवा प्रवाह,विकास निर्माण लगायतका क्षेत्रमा फड्को मार्दै गएको प्रति प्रशंसा गर्नुभयो । 

जिल्ला अन्य सात स्थानीयहरू पनि पुर्णखोप सुनिश्चितताको तयारीमा जुटिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button