तपाईँ सुन्दै हुनुहुन्छः

माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

माले।  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिनलाई उच्च अदालतले बिहीबार रिहा गरेको छ । 

माल्दिभ्समा तीन न्यायाधीशको उच्च अदालतको इजलासले यामिनको सन् २०२२ को मुद्दा अनुचित भएको ठहर गर्दै नयाँ मुद्दाको आदेश दिएको छ । न्यायाधीश हसन शफिउले लामो फैसला पढ्दै तल्लो अदालतको फैसला निष्पक्ष नभएको बताउनुभयो । फैसलाको प्रत्यक्ष प्रसारण गरिएको थियो । 

फैसला आइतबारको संसदीय निर्वाचनअघि आएको छ । निर्वाचनमा यामिनले आफ्नो सजाय भोग्दै गर्दा आफूले गठन गरेको राजनीतिक दलबाट उम्मेदवार उतार्दै हुनुहुन्छ । 

यामिनलाई दुई आरोपमा दोषी ठहर गरिएको थियो । सन् २०१३ देखि सन् २०१८ सम्म सत्तामा रहँदा पर्यटन विकासका लागि एउटा सानो टापु भाडामा दिन घुस लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । बिहीबारको फैसलाले उक्त फैसलालाई खारेज गरेको छ । यामिनका सह–आरोपी युसुफ नइमलाई पनि रिहा गरिएको छ । व्यापारी नइमलाई १० लाख डलर घुस दिएको आरोपमा दोषी ठहर गरिएको थियो । 

चौँसठ्ठी वर्षीय यामिनलाई उच्च सुरक्षा भएको माफुशी कारागारमा  राखिएको थियो तर उहाँका सहयोगी मोहम्मद मुइज्जु गत सेप्टेम्बरमा राष्ट्रपति निर्वाचनमा विजय भएको भोलिपल्टै यामिनलाई नजरबन्दमा राखिएको थियो । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button