तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका ३५३ घरधुरी मात्रै विद्युतीय चुलोको पहुँचमा

जुम्ला । नेपाल विद्युत् प्राधिकरणले भनेअनुसार विद्युतीय चुलोको प्रयोग बढ्न सकेको छैन । राष्ट्रिय प्रसारण लाइन गाउँ गाउँ सम्म पुगेपनि भरपर्दो नहुँदा अपेक्षाअनुसार घरधुरी विद्युतीय चुलोको पहुँचमा नपुगेका हुन् । 

स्थानीय जलविद्युत उत्पादनका साथै राष्ट्रिय प्रसारण लाइन पुगेका दुर्गम क्षेत्रमा विद्युतीय चुलोको प्रयोग निकै न्युन रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय जनगणना–२०७८ तथ्यांकनुसार मुलुकका सात प्रदेश मध्य सबैभन्दा कम कर्णाली प्रदेशमा विद्युतीय चुलोको प्रयोग हुने गरेको छ । 

सबैभन्दा बढी बागमती प्रदेश र कम कर्णाली प्रदेशमा विद्युतीय चुलो प्रयोग भएको देखिएको हो । बागमती प्रदेशको काठमाडौँ जिल्लाका मात्रै चार हजार छ सय ९४ घरधुरीले विद्युतीय चुलो प्रयोग गर्दा समग्र कर्णाली प्रदेशभरिमा तीन सय ५३ घरधुरीले मात्रै विद्युतीय चुलो प्रयोग गरिरहेका छन् । 

१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा तीन सय ५३ घरधुरीले विद्युतीय चुलो प्रयोग गरेको देखिन्छ । विद्युत् पहुँच पुगेर पनि विद्युतीय चुलोको प्रयोग न्युन देखिनुले पहिलो कुरा विद्युत् कम पावरको हुनु,नियमित नहुनु र अर्को कुरा दाउराकै प्रयोग बढी रहेको समेत स्पष्ट हुन्छ । 

कर्णालीका १० जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतमा एक सय नौ घरधुरीले विद्युतीय चुलो प्रयोग गरिरहेका छन् । भने, दैलेख जिल्लाका ८९,जाजरकोटका ६५,रुकुम पश्चिमका २७, सल्यानका १७ घरधुरीले मात्रै विद्युत् प्रयोग गरी खाना पकाउने गरेका छन् । 

साथै साविक कर्णालीमा झनै विद्युतीय चुलोको प्रयोग निकै न्युन देखिन्छ । साविक कर्णालीका पाँच जिल्लामध्ये जुम्लाका १३,मुगुका १४,कालिकोटका १०,हुम्लाका ८ र डोल्पा जिल्लाका एक घरधुरी मात्रै विद्युतीय चुलोको पहुँचमा रहेका छन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो कार्यकालकै बेला कर्णाली उत्सवमा आउँदा कर्णालीको विद्युतीकरणमा जोड दिने र विद्युतबाट चल्ने सबै उपकरणको प्रयोगमा सुगमदेखि दुर्गमको पहुँच वृद्धि गर्ने प्रतिबद्धता गरेका थिए । 

दोस्रो कार्यकालमा पनि कार्यकारी निर्देशक नियुक्त भएको वर्षौ बितिसक्दा समेत विद्युतीय चुलोको प्रयोगमा वृद्धि त परै जावस कर्णालीमा राष्ट्रिय प्रसारण लाइनको बत्ती नियमित समेत नआउने आएपनि पावर नै नपुग्ने समस्या छ । 

यता नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाह राष्ट्रिय लाइन विस्तार भएपनि अधिकांश नागरिक दाउरा तथा एलपी ग्याँसबाटै खाना पकाउने गरेको बताउनुहुन्छ । 

प्रमुख शाह भन्छन्,‘जुम्लामा प्रसारण लाइनको दुरी लामो हुनु र सवस्टेशन नहुनुले केही समस्या छ । तर विगत भन्दा बत्ती राम्रै छ । विद्युतीय चुलोको प्रयोग बढ्नु भनेको विद्युत् बढी खपत हुनु हो । भने अर्कोतिर वन जङ्गल संरक्षण हुनु हो । तर प्रदेश राजधानी सुर्खेतमै विद्युतीय चुलोको प्रयोग सन्तोषजनक छैन । भने दुरदराजमा बत्तीबाट उपकरणको प्रयोग वृद्धि नहुनु स्वभाविक पनि हो । केही वर्षपछि सबै गाउँमा विद्युतको अधिकतम प्रयोग बढ्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button