तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक : दुई सहसचिवलाई सचिवमा बढुवा (निर्णयसहित)

काठमाडौँ । सरकारले केदारनाथ शर्मा, वैकुण्ठबहादुर अधिकारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

यस्तै, बैठकले राष्ट्रिय मानव अधिकार आयोगको रिक्त सचिव पदमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो । 

मन्त्रिपरिषद् बैठकले सहसचिव गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने लगायतका निर्णयहरू गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
१. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव श्री गोविन्द बहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने ।
२. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
३. नेपाल लेखा परीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री वैकुण्ठ बहादुर अधिकारीलाई बढुवा गर्ने ।
४. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री केदारनाथ शर्मालाई बढुवा गर्ने ।
५. राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारी प्रसाद खरेललाई नियुक्त गर्ने ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button