तपाईँ सुन्दै हुनुहुन्छः

१५ जोडीको सामूहिक विवाह गरी सम्पन्न 

मोरङ । १५ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । महेश्वरी महिला मञ्चको आयोजनामा आज सामूहिक विवाह विराटनगरमा  सम्पन्न भएको हो ।

सामूहिक विवाह कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले यो पुण्यको काम गरेको महसुस भएको बताउनुभयो । उहाँले यस्तो पुण्यको काम गरे कुनै पनि बुवा आमालाई छोरी बोझ नहुने समेत बताउनुभयो ।

यो कार्यक्रमले निरन्तरता पाउनुपर्ने अपेक्षा रहेको बताउँदै उहाँले महानगर सधैँ साथमा रहेन प्रतिबद्धता जनाउनुभयो । यस्तै जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले संस्थाले विपन्न परिवारको सन्तानको विवाह गराएकोमा आभार प्रकट गर्नुभयो ।

विवाह गर्दा कतिपय परिवारको सामर्थ्य नपुग्दा असहज हुनेभएको आफूबाट हुने सहयोग गर्न तयार रहेको उहाँको भनाई थियो ।

अति विपन्न परिवारबाट छानिएको जोडीलाई अभिभावक र जनप्रतिनिधिको समन्वयमा विवाह गर्ने निर्णय भएको महेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठीले जानकारी दिनुभयो । ६ महिनाको तयारीपछि बल्ल यो कार्यक्रम सम्पन्न गर्न सफलता मिलेको उहाँले बताउनुभयो । ८१ वर्षको उमेरमा थुप्रैको विवाह गरेको अनुभव बोकेका सामूहिक विवाहमा आएका एक पण्डितले यो पहिलो अनुभव भएको प्रतिक्रिया दिएका थिए । उनले सामूहिक विवाह गर्दा सहज र समय खर्च नहुने समेत उनको भनाइ थियो ।

यता, संस्थाले विवाह गरिदिँदा धेरै राहत मिलेको विवाह बन्धनमा बाँधिएका परिवारहरूको भनाई छ । आर्थिक अवस्था कमजोर हुँदा धूमधामको साथ विवाह गर्ने अवस्था पनि नभएकाले संस्थाले गरेको काम प्रति आफूहरू खुशी रहेको समेत उनीहरूले बताए ।

विवाहमा एउटी कन्यालाई घर चलाउनका लागि आवश्यक पर्ने हरेक घरायसी सामग्री समेत उपलब्ध गराएको सङ्घकी अध्यक्ष राठीले जानकारी दिइन् ।

उनको अनुसार सुनको गहना, चाँदीको पाउजु, नाकमा फुली, कानमा सुनको टप समेत दुलहीलाई प्रदान गरिएको छ । भने, दुलाहाका लागि समेत सर्ट, पेन्ट प्रदान गरिएको छ ।

दुलहीको नाममा एघार हजारको मुद्दती खाता समेत खोलिएको अध्यक्ष राठीले बताइन् । बैक खातामा भएको पैसा ५ वर्षपछि मात्रै झिक्न पाउने व्यवस्था रहेको उनको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button