तपाईँ सुन्दै हुनुहुन्छः

पुम्दीभुम्दी अर्को धार्मिक एवं पर्यटकीय गन्तव्य: बुद्ध पार्क निर्माणको अन्तिम चरणमा 

पोखरा । पोखरा २२ पुम्दीभुम्दीमा अब अर्को धार्मिक एवं पर्यटकीय गन्तव्य बुद्ध पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ । 

पोखराको फेवाताल र सिद्धार्थराज मार्ग जोडिएर पनि पछि परेको पुम्दी भुम्दीमा पछिल्लो २/३ बर्ष देखि पुम्दीकोट विशाल महादेवको मूर्तिले जसरी चर्चा र धार्मिक एवं पर्यटकहरूलाई आकर्षण गरेको छ त्यसै गरी बौद्ध धर्मका भक्तहरूलाई सहित पर्यटकलाई आकर्षण गर्न पोखरा २२ को नियालेडाँडा (चक्रहाल्ने डामाडाम) बुद्ध पार्क निर्माणको अन्तिम चरणमा पुगेको हो । 

पहिलो चरणमा बुद्धको मूर्ति विधि पूर्वक जडान गरिएको बुद्ध पार्क निर्माण समितिका अध्यक्ष एवं संयोजक युवा व्यवसायी राज गुरुङ (लाल) ले बताउनु भयो । धर्म गुरु कुण्डोल रिनपोक्षे द्वारा सहयोग प्राप्त भएको १५ फिट अग्लो शाक्यमुनिको बुद्ध मूर्ति उक्त स्थानमा प्रतिस्थापन गरिएको उहाँले जनाउनु भयो । करिब ८/९ बर्ष अघिको भेटमा बुद्ध मूर्ति राख्न सकिन्छ की भन्ने धर्म गुरुसँग अध्यक्ष गुरुङले राखेको प्रस्तावमा उहाँले स्विकार्दै मूर्ति सहित स्तुपाः तथा साना आकृतिका बुद्ध मूर्तिहरू समेत सबै धर्म गुरुले नै व्यवस्थापन गर्नु भएको हो ।

भारतको तेह्रादुनमा मूर्ति निर्माण गरी केही समय अघि नै बुद्ध पार्कमा प्रतिस्थापना गरिएको हो । फाइवरबाट निर्माण गरिएको १५ फिटको उचाईमा रहेको उक्त मूर्ति केही समय पश्चात् गोल्डेन कलरमा रंगरोगन गरिने भएको संयोजक गुरुङले उल्लेख गर्नु भयो । पहिलो चरणमा ५ करोडको परियोजना सफल पार्न पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नम्बर २२ स्थानीयवासी एवं विदेशबाट समेत सहयोग जुट्दै गरेको उहाँले जनाउनु भयो । 

उक्त बुद्ध पार्कमा १० फिटका दुई वटा मूर्ति, ८ वटा स्तुपाहरु समेत निर्माण गरिने भएको छ । बुद्ध पार्क अपाङ्ग मैत्री समेत बनाउने समितिले योजना रहेको छ । आगामी डेढ महिनामा बुट्टा भर्ने काम सकिने त्यस पछि पानीको क्यूरिङ समेत गर्नु पर्ने भएकोले केही रङ्ग रोगन गर्न समय लाग्ने उहाँले जनाउनु भयो । बुद्ध मूर्ति भन्दा तल्लो भागमा साँढे २ फिटको बुद्ध मूर्तिहरू रहने भएको गुरुङले जनाउनु भयो । १ सय ८ वटा सानो आकारको ११ इन्चको बुद्ध मूर्तिहरू रहने भएको उहाँले जनाउनु भयो । त्यसको माथि स्यम्भुनाथ, नमोबुद्ध र बौद्धका ५४ वटा स्तुपाहरु समेत राखिने भएको छ । 

उक्त पार्कमा जानको लागि दुई तर्फी सिडि बाटो निर्माण सहित वरिपरि वृक्षारोपण सहित फुलका बिरुवाहरू रोप्ने काम समेत हुँदै गरेको उहाँले जनाउनु भयो । बुद्ध मूर्ति रहेको स्थान (ठि) मा हाल कालिगडबाट कलात्मक बुट्टा बनाउने काम भई रहेको संयोजक गुरुङले जनाउनु भयो । अध्यक्ष गुरुङले भन्नु भयो“यही ठाउँमा म हुर्किए, आज म यत्रो भए, यस ठाउँको लागि मैले केही गर्नु पर्छ भन्ने मान्यतालाई सार्थक बनाउन यो परियोजनाको अघि बढाएका हौँ, अरूले गरोस् वा नगरोस् आफैबाट सुरुवात गर्नु पर्छ भनेर आज हामी लागेका छौँ । ”

आफ्नो गाउँ कालाबाङ घरेडिको शिरमा उक्त बुद्ध पार्क स्थापनाले अब गाँउमा धार्मिक एवं पर्यटन आगमनमा उल्लेखिय रुपमा वृद्धि हुने स्थानीय याम गुरुङले विश्वास व्यक्त गर्नु भयो । कालाबाङ होमस्टेका अध्यक्ष समेत रहनु भएको उहाँले अब आफ्नो गाउँसम्म पर्यटकहरूको ओइरो लाग्ने दाबी गर्नु भयो । 

चक्र राखेर यहाँको मौसम थाहा पाउने डाँडाको रुपमा परिचित उक्त क्षेत्रबाट मौसम खुल्दा हिमश्रृखला, पोखरा, फेवाताल, सराङकोट, पुम्दीकोट, काहुँडाडाँ, कास्कीकोट, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, स्याङजा लगायतको ठाँउहरु अवलोकन गर्न सकिन्छ । 

विगत ९ महिना अघि निर्माण कार्य सुरु गरिएको उक्त परियोजनाको हालसम्म करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको समितिको दाबी छ । आफु जन्मेको ठाउँ पोखराको मुख्यबजारसंगै जोडिएको निकै रमणीय गाँउमा आफूले केही गर्नु पर्छ भनेर उक्त बुद्ध पार्कको अवधारणालाई अघि बढाएर आफैले यसको नेतृत्व लिएको उहाँको भनाई छ । ५ दशक अघि पुम्दीभुम्दीमा शान्ति स्तुपाः स्थापना भएको हो भने ५/७ बर्ष अघि देखि विशाल महादेवको मूर्तिले चर्चा पाउँदै आएको छ । 

कालाबाङ सामुदायिक होमस्टेको माथिको डामाडाम उक्त पार्क निर्माण हुनुले बिहान आउने पर्यटकलाई छोटो हाइकिङ सहितको ध्यान केन्द्रको रुपमा समेत विस्तार गर्न खोजिएको समितिका उपाध्यक्षमा राजबहादुर गुरुङले बताउनु भयो । 

स्वदेश तथा विदेशमा रहनुहुने आर्थिक भौतिक तथा नैतिक रूपमा सहयोग गर्नुहुने समस्त सहयोगी मत तथा इष्टमित्रहरू प्रति अध्यक्ष गुरुङले नेपाली नयाँ बर्ष २०८१ को शुभकामना व्यक्त गर्दै उक्त परियोजनालाई सफल पार्न सहयोगको अपेक्षा गर्नु भएको छ । उक्त समितिको उपाध्यक्षमा राजबहादुर गुरुङ, अर्थ सङ्कलनमा लोक प्रसाद गुरुङ रहनु भएको छ भने सचिव कृष्ण बहादुर गुरुङ सहितको टोलीले उक्त परियोजना सफल पार्न स्वदेश तथा विदेशमा सहयोगको आव्हान समेत गर्दै आउनु भएको छ । बुद्ध पार्क निर्माण समितिमा ९ जना रहनु भएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button