तपाईँ सुन्दै हुनुहुन्छः

दुना, टपरीबाट आम्दानी गर्दै बाँकेका महिला

बाँके । महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरू व्यवसायमा पनि सक्षम छन् भन्ने उदाहरण बनेकी छिन्, नारायण नगरपालिका–१ दैलेख की मिना खड्का ।

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा कानुन संकायको अध्ययन गर्दा गर्दै एक वर्ष पहिले रु छ लाख खर्चेर नेपालगन्ज १९ मा स्थापना गरेको पारामी डिस्पोजल एण्ड दुना टपरी उद्योगले उहाँलाई उद्यमी बनाएको छ । उहाँले अहिले सोही उद्योगबाट घरमै बसेर मासिक रु २० हजारभन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । नेपालगन्ज १९ मा सालको पातबाट दुनाटपरी बनाउने उद्योग सञ्चालन गर्नु भएकी मिनाले गाउँका महिलालाई पनि रोजगारीमा जोड्नु भएको छ । 

‘गोठाला गएका, गाउँमा फुर्सदमा भएका महिला दिनभर सामुदायिक वनमा गएर पात टिप्नुहुन्छ । त्यो पात हामीले खरिद गर्छौँ’, मिना भन्नुहुन्छ, ‘प्रतिकेजी रु १७ देखि २० मा खरिद गर्छौ ।’ यस उद्योगबाट गाउँका महिलाले पनि घरायसी कामको अतिरिक्त समयको सदुपयोग गर्न पाएका छन् ।

उद्योगबाट आफूहरूलाई आयआर्जनको बाटो पनि खुलेको उहाँको भनाइ छ । दैलेख घर भई हाल नेपालगन्ज १९–की मिनाले उद्योग सञ्चालनमा ल्याएपछि घरमै रोजगारी आएको अनुभूति भएको पवित्रा रानाले बताउनु भयो ।  

फत्तेपुर ७ नयाँ बस्तीकी सङ्गीता थारुले भन्नुभयो, घरायसी कामसँगै सालका पात टिपेर पैसा आउन थालेपछि घरको सानोतिनो खर्च टार्ने माध्यम मिनाको उद्योग बनेको छ । घाँस दाउरा, मेलापात गर्दै उमेरले नेटो काट्न लाग्दा जङ्गलमा कुहिएर खेर जाने सालको पात टिपेर पैसा कमाइ होला भन्ने आफूले नसोचेको उहाँले सुनाउनु भयो । 

उहाँ भन्नुहुन्छ, ‘आज त्यहीँ सालको पातले घरको  खर्च टारेको छ । सानोतिनो रकमका लागि अरुसँग माग्नु परेको छैन ।’ सङ्गीता जस्तै वडा नं. ७ नयाँ बस्तीका अधिकांशले सालको पात सङ्कलन गरी बिक्री गर्दै आएका छन् । स्थानीय क्षेत्रमा प्रशस्त पाइने त्यो पनि खेर गइरहेको वस्तुबाट आम्दानीसँग जोडेकी मिनालाई उद्योग सञ्चालनको सुरुवातमा बजारीकरणको समस्या भए पनि अहिले बजारको मागलाई भ्याउन सक्नु भएको छैन । उहाँले हप्ताको एक दिन शनिबार स्थानीयवासीले सङ्कलन गरेको पात खरिद गर्दै आउनु भएको छ ।  हप्तामा रु १० हजारदेखि रु १५ हजारसम्मको सालको पात खरिद गर्दै आएको मिनाले बताउनु भयो । 

उहाँले भन्नुभयो,‘नेपालगन्जका विभिन्न क्षेत्र हुँदै दैलेख सम्म उत्पादन भएको दुनाटपरी जाने गरेको छ । उत्पादन भएको वस्तुका लागि बजार पर्खनुपर्ने स्थिति छैन, ।’ मिनाले भन्नुभयो, ‘उत्पादनको मात्रा बढाउन नसक्दा बजारको मागलाई धान्न मुस्किल भएको छ ।’ उद्योगमा दैनिक १४ सय भन्दा बढी टपरी र १५ सय दुना उत्पादन हुन्छन् । विभिन्न ६ साइजमा दुनाटपरी उत्पादन हुँदै आएको उद्योग सञ्चालक मिनाले बताउनु भयो । 

उत्पादन भएको वस्तुको बजारीकरणमा मिनालाई श्रीमान् निरख बहादुर तारामीले साथ दिनु भएको छ । नेपालबाट मात्रै नभई छिमेकी मुलुक भारतका स्थानीय व्यापारीबाट पनि वस्तुको माग भइरहेको मिनाले बताउनु भयो । कानुन विषय अध्ययन गरेर वकिल बन्ने सपना देख्नु भएकी मिना उद्योग सञ्चालन गरेर हर्षित देख्नु भएको छ । उहाँले भन्नुभयो, कानुन विषय सबैले अध्ययन गर्न जरुरी छ । कानुन अध्ययनले नै उद्योग चलाउन प्रेरणा मिलेको सुनाउनु भयो । उहाँले भन्नुभयो उद्योग सञ्चालनमा आए पछि ३० जना भन्दा बढी महिलाले रोजगारी पाएका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button