तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा गहुँ बालीमा आगलागी

टीकापुर कैलाली । कैलालीको जोशीपुरमा गहुँ खेतमा आगलागी भएको छ । आगलागीबाट १३ कठ्ठा जमिनमा काट्न बाँकी रहेको गहुँबाली जलेर नष्ट भएको  छ । 

आगलागीका कारण जोशीपुर ४ खन्चुवाका किसान परशुराम चौधरीको केही काटेर थुपारेको गहुँबाली र केही काट्न बाँकी रहेको गहुँबाली जलेको इलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिएको छ । चौधरीको १३ कठ्ठा जमिनमा लगाएको बाली जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयका अनुसार बिजुलीको तार गहुँ खेतमा लत्रिएका कारण आगलागी भएको बताइएको छ । आगलागीका कारण १० विघा जमिन जलेको छ । बाँकी किसानले गहुँ बाली भित्र्याइसकेकाले गहुँको नल र भुस्सा जलेको इलाका प्रहरी कार्यालय जोशीपुरमा इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक गणेशबहादुर थापाले जानकारी दिनुभयो ।

आगो स्थानीय बासिन्दा, प्रहरी, र टीकापुरको दमकलको सहायतामा नियन्त्रणमा आएको हो । गर्मीका समयमा मानिसको सानो सानो लापरवाहीले आगलागीका घटना हुने र आगलागीबाट ठूलो धनजनको क्षति हुने भएकाले नागरिक सचेत हुन आवश्यक रहेको स्थानीयको भनाइ छ ।

त्यस्तै भजनी वडा नं. ८ जनकपुरमा नारायण प्रसाद देवकोटाको काट्न बाँकी रहेको ८ कठ्ठा जमिनमा आगलागी भएको छ । टेकना चौधरीले अधिया लगाएको गहुँ बालीमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । आगलागीबाट गहुँबाली पुरै क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button