तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोडारी नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारी नियुक्त हुनु भएको छ । 

प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । उहाँले संविधानको धारा १६८ (२) बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोडारीलाई नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र १०, एकीकृत समाजवादी ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ गरि २७ जनाको समर्थन रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि ९बहुमत० २७ जना आवश्यक पर्छ । यहाँ नेपाली काँग्रेस १८, नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११ (सभामुख सहित), नागरिक उन्मुक्ति ७, नेकपा एस ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य हुनु हुन्छ । मुख्यमन्त्री कमल बहादुर शाहले चैत्र २२ गते राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको थियो ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रदेश सभा सदस्यलाई वैशाख २ गते भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरे बमोजिम नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो । 

दुवै दाबी पेशका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै उहाँले वैशाख ४ गते सोही धारा बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न पुनः आह्वान गर्नु भए बमोजिम नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्री दाबी पेश गर्नु भएको थियो । 

तत्कालीन मुख्यमन्त्री शाहले राजीनामा दिएको दुई सातापछि सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्रीमा सोडारीलाई पाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button