तपाईँ सुन्दै हुनुहुन्छः

जडीबुटी उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा

बाँके । बाँकेमा जडीबुटी उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा आएको छ । 

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ मा रहेको बाहुबली हर्ब प्रालि जडीबुटी उद्योगमा विद्युत् सर्ट भई आज बिहान ७ः०० बजे लागेको आगो दिउँसो २ः०० बजे नियन्त्रणमा आएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार व्यापारी राजेश जैनले सञ्चालन गरेको जडीबुटी उद्योग परिसरमा राखिएका सल्लाको खोटो तथा दाउराबाट सुरु भएको आगलागी उद्योगसम्म पुगे पनि नेपालगन्ज विमानस्थलको दमकल, बाँकेका विभिन्न पालिकाका ६ वटा दमकल, जिल्ला प्रहरीको वाटर क्यानोन, बर्दियाका विभिन्न स्थानीय पालिकाका ३ वटा दमकल, भारतको बहराईचको एक गरी ११ वटा दमकलबाट आगलागी नियन्त्रणमा लिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले प्रहरी उपरीक्षक कार्कीको कमाण्डमा ११४ जना नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी १६४ जना सुरक्षाकर्मी परिचालन गरी आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको बताउनुभयो । 

उद्योगका सञ्चालक राजेश जैनले करोडौँको क्षति भएको बताउनुभए पनि बाँके प्रहरीले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button