तपाईँ सुन्दै हुनुहुन्छः

 ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’  डा. रुइतलाई

झापा । ‘आँखाका ज्योति’ उपनामले परिचित नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ ।

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार सोमबार एक समारोहका बीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गर्नुभयो । पुरस्कारको राशि रू पाँच लाख रहेको छ ।

त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापा बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । उहाँलाई रू एक लाख एक हजार १११ पुरस्कार राशि तथा सम्मानपत्र प्रदेश प्रमुख खापुङले प्रदान गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले मानव हित, सकारात्मक सामाजिक विकासमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताउनुभयो । आँखाको उपचारका क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएकाले डा. रुइतलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

जन्म विसं. २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा पिता सोनाम रुइत र मात केसाङ रुइतको गर्भबाट जन्मिनुभएका डा. रुइतले सरल र कम लागतमा आँखामा हुने मोतीबिन्दु उपचारको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’को सुरुवात गर्नुभएको छ ।

यस्तै, तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय सविनले मिनी हवाईजहाज, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गर्नुभएको छ । उहाँलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button