तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारबाट लोसपाका मन्त्रीको राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको मन्त्रीपरिषद् पुनर्गठन गरिएको छ ।

नव गठित मन्त्रीपरिषद्बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट वन तथा वातावरणमन्त्री रहेका रमेश प्रसाद कुर्मीले राजीनामा दिएपछि मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले प्रदेश सरकारको पुनर्गठन गर्नुभएको हो ।

नवगठित मन्त्रीपरिषद्मा लोसपाका मन्त्रीले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोज कुमार यादवले आफैसँग राख्नुभएको छ ।

मधेश प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी बाहिरिएपछि सरकारमा जनता समाजवादी पार्टी, नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी रहेका छन् ।

यसैबीच प्रदेश सरकारका मुख्यमन्त्रीसहित सरकारको गतिविधि सन्तोषजनक नभएको भन्दै सरकारबाट बाहिर जाने पार्टीको निर्णय अनुसार रमेश प्रसाद कुर्मीले राजीनामा गरेको लोसपाका प्रदेश सभाका सदस्य एवं नेता उपेन्द्र महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button