तपाईँ सुन्दै हुनुहुन्छः

मकैको घोगामा दाना नलागेपछि किसानहरू चिन्तित

वीरगञ्ज । बारामा यस वर्ष पनि हिउँदे मकैको घोगामा दाना नलागेपछि किसानहरू चिन्तित भएका छन् । बाराको जीतपुरसिमरा–११ फत्तेपुरका मकै किसान रामलाल राउतले यस वर्ष २ बिगाहा १० कट्ठा जग्गामा ३३५५ जातको मकै लगाएका थिए ।

कार्त्तिकमा लगाएको उनको मकैमा दाना नलागेको पीडित किसानले बताएका छन् । गत वर्ष प्रतिकट्ठा ३ क्विन्टल बढी मकै फलेको खेतमा यसपटक १ क्विन्टल मात्रै फलेको पीडित किसान राउतले बताउँदै मकैको घोगा ठुलो ठुलो छ तर भित्र च्यातेर हेर्दा दाना छैन भन्नुभयो ।

मलखाद, बीउ, मजदुर, जोताइ, पानी लगाउँदा विद्युत् खर्च धेरै महँगो भएकाले यो वर्ष मकैबाट खर्च पनि नउठ्ने बताउँदै राउतले कार्त्तिकमा लगाएको मकै माघमा भएको शीतलहर र चिसोले पात झरेर दाना नै लाग्नै सकेन । धेरै खर्च गरेर औषधी गर्दा पनि दाना नलागेकोमा दुःख व्यक्त गर्नुभयो ।

राउत जस्तै बारामा दर्जनौँ किसानहरुले लगाएको मकै खेतीमा दाना नलागेको पीडित किसानहरुले बताएका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिका–२० का अर्का किसान लालजी खाँ यसपटक मकैको बिउ बेच्नेले बेइमान गरेर पुरानो मकैको बीउ दिएको हुँदा दाना नै नलागेको बताउनुभयो ।

त्यसैगरी निजगढ नगरपालिका–४ की रेखा हुमागाईँले पनि गत वर्ष १४ कट्ठा जग्गामा ३० देखि ३२ क्विन्टल मकै बेचेकोमा यसपटक ११/१२ क्विन्टल मात्रै मकै बिक्री गरेको बताउनुभयो ।

जीतपुर सिमरा उपमहानगरका कृषि प्राविधिक धिरज पौडेलले यसपटक मकैको घोगामा दाना नलाग्ने समस्या बाराको सबै पालिकादेखि रौतहट र सर्लाहीमा समेत देखिएको बताउनुभयो ।

मङ्सिर पहिलो साता लगाउनुपर्ने ३३५५ र ९०८१ जातको मकै किसानले असोज–कात्तिकमै लगाउँदा यस्तो समस्या देखिएको प्राविधिक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button