तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रममा जनमतले गरे अवरोध

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सभा वाट विश्वासको मत लिने प्रक्रियालाई जनमत पार्टीले अवरोध गरेका छन् ।

मधेश प्रदेश सरकार वाट नेपाली काँग्रेस बाहिर भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले ३० दिनभित्रमा प्रदेश सभा वाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिनका लागि १ बजे बैठक बोलाएकोमा १ घण्टा ढिलो गरि करिब २ बजे शुरु भएपछि जनमत पार्टीले अवरोध गरेका थिए ।

प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले बैठक शुरु भएको घोषणा गर्ने बित्तिकै जनमत पार्टीका नेता चन्दन सिंहले माघ ८ गते राजविराजमा भएको घटनाको सम्बन्धमा मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिँदा छानविन समिति गठन गरेर छानविन गर्ने फागुन ५ गते जनमतसँग सहमति गरेपनि सो सहमति कार्यान्वयन नभएको भन्दै अवरोध गर्ने घोषणा गर्नु भएको थियो ।  

जनमतले अवरोधको घोषणा गरेपछि नेकपा एमालेका संसदीय दलको उपनेता दिपेन्द्र ठाकुरले महेश यादवमाथि भएको घटनामा प्रति आफ पनि दुखित रहेको तर सो घटना व्यक्तिगत रुपमा भएको भन्दै बैठक अवरुद्ध गर्न नमिल्ने बताएपछि नेपाली काँग्रेस र जनमत पार्टीका सबै प्रदेश सभाका सदस्यहरु आ–आपनो स्थान वाट उठेर रोष्टम घेराउ गरेर नाराबाजी सहित प्रदर्शनमा उत्रेका  थिए ।

रोष्टम घेराउ र प्रदर्शन पछि बैठक सञ्चालन गर्ने अवस्था नभएको भन्दै सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेको घोषणा गर्नु भयो । करिब डेढ महिनापछि बोलाइएको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने कार्यसूची रहेपनि माघ ८ गते भएको घटनामा मुख्यमन्त्रीले माफी नमागेसम्म बैठक चल्न नदिने अडान जनमतले लिएपछि बैठक अवरुद्ध भएको हो ।

यसअघि फागुन १५ गते बोलाइएको प्रदेशसभा बैठकमा जनमतका सांसदहरुले अवरोध गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । गत माघ ८ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा विभागीय मन्त्रीलाई जानकारी नदिएको भन्दै जनमत पार्टीले विरोध गरेपछि प्रहरीले लाठीचार्ज तथा वलको प्रयोग गर्दा मधेस सरकारका तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री महेश यादवको टाउको फुटेको थियो भने केही प्रदेशसभा सदस्यहरूलाई चोट लागेको थियो ।

जनमतका सांसदले मुख्यमन्त्रीको निर्देशनमा आफूहरूमाथि कुटपिट भएको भन्दै सरकार छाडेका थिए भने त्यसयता सो पार्टीले बैठक अवरुद्ध गर्दै आएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button