तपाईँ सुन्दै हुनुहुन्छः

हिले खाना महोत्सवको तयारी पुरा

धनकुटा। धनकुटाको हिलेमा बुधबारदेखि सुरु हुने तेस्रो हिले खाना महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। बुधबारदेखि वैशाख ९ गतेसम्म आयोजना हुने हिले तेस्रो स्टिट खाना महोत्सवको तयारी पुरा भएको आयोजक संस्था हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था तथा होटल एसोसिएसन धनकुटाले मङ्गलवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रबद्र्धन भन्ने मुल नाराका साथ हुने महोत्सवमा स्थानीय अर्ग्यानिक मौलिक खानाको परिकारहरू आकर्षणको रुपमा रहने संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताउनु भयो।

यस्तै ५ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतसँगै विभिन्न जातजाति समुदायको आ–आफ्ना मौलिक संस्कृतिहरूको पनि प्रस्तुती हुने आयोजकले जनाएको छ। महोत्सवमा १० वटा स्टलहरूमा विभिन्न खानाको परिकारहरूको रहने भएका छन्। स्टलमा विशेष गरेर कोदोको ढेडो, फापरको ढेडो, कोदो तथा फापरको रोटी, गुन्द्रुकको अचार, किनामाको अचार, सेल रोटी लगायत अन्य लोकल मौलिक परिकारहरू रहने छन्। साथमा हिले आसपासका पर्यटकीय स्थलहरूको प्याकेजमा भ्रमण तथा अवलोकन गर्न व्यवस्था मिलाइने आयोजकले जनाएको छ। महोत्सवमा ४० हजार पर्यटक आएर एक करोड २५ लाखको कारोबार हुने आयोजकले जनाएको छ।

महोत्सवको सञ्चालनको लागि धनकुटा नगरपालिका, कोशी प्रदेशको वन तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र होटल संघ नेपालको सहयोग रहेने आयोजकको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button