तपाईँ सुन्दै हुनुहुन्छः

धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियमन गर्न सचेतनामूलक अभियान

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ बर्ष २०८१ को प्रारम्भसङै धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानकै रुपमा अगाडि बढाइएको हो । 

पहिलो चरणमा सचेतना प्रबद्र्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिका अगाडि बढेको छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थको कानुनसम्मत बिक्री वितरण, सार्वजनिक ठाउँहरूमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवन दर घटाउने उद्देश्यका साथ अभियान थालिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । धूम्रपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई जनमानसमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउने नगर प्रमुख विष्टको भनाई छ । 

सचेतना  अभियानसँगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति नेपालगञ्ज उपमहानगरपालिकाले लिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । उहाँले सार्वजनिक ठाउँ, निकाय र पसलहरूमा  नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन २०६८ बमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज बिहान प्रभातफेरी गरेर अभियानको औपचारिक थालनी गरेको छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामूलक प्रभातफेरी गरिएको हो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोकमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको पनि उपस्थिति थियो । 

प्रभातफेरी पश्चात् आयोजित कार्यक्रमलाई नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख कार्कीले सम्बोधन गर्दै धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आम नगरबासीको साथ आवश्यक रहेको बताउनुभयो । स्वस्थ र सुसंस्कृत समाज निर्माणका लागि प्रत्येक नागरिकले स्वतःस्फूर्त धूम्रपान र सुर्तीजन्य पदार्थ त्याग्ने प्रतिज्ञा गर्नुपर्नेमा उहाँहरूको जोड छ ।

धूम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगहरूको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कुल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button