तपाईँ सुन्दै हुनुहुन्छः

टोखा बिस्का जात्रा : सिन्दूर जात्रासहित रथलाई टोल परिक्रमा

काठमाडौँ । ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्व बोकेको टोखाको बिस्का नख: (जात्रा)को चौथो दिन आज सिन्दूर जात्रासहित रथलाई परिक्रमा गरिएको छ । गत चैत मसान्तदेखि सुरु भएको जात्राको आज चौथो दिन आज बिहान ७ बजे तपलाक्षीःबाट देवतासहितको रथलाई सिन्दूर जात्रा गरी टोल परिक्रमा गरिएको र बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइएको छ ।

आजै दिउँसो तलेजु गुथीबाट जीवित गणेश, कुमारीसहित पूजा ल्याएर सिन्दूर जात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिएको नेवा गुथी: टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । यस्तै, उक्त रथलाई मसान कालीको मन्दिर र गाउँको परिक्रममा गरी आजै साँझ कोनेलाक्षीःमा बिसाइएको छ । आज रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

बिस्का जात्राको चौथो दिन आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल, कांग्रेस नेता एवम् काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी लगायत व्यक्तिहरू जात्रामा पुग्नुभएको थियो ।

टोखा नगरपालिकाले जात्राका अवसरमा आज टोखाको वडा नं २ र ३ मा र भोलि अर्थात् जात्राको अन्तिम दिन टोखा नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button