तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्रको रक्षा र राम्रा पक्ष उजागर गर्ने दायित्व मिडियाको : मन्त्री शर्मा

दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले लोकतन्त्र गणतन्त्रको रक्षा र व्यवस्थाका राम्रा पक्ष उजागर गर्ने दायित्व मिडिया क्षेत्रको भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङले घोराहीमा आयोजन गरेको २२ औँ साधारण सभा तथा १२ औँ महाधिवेशन मिडिया महोत्सवको उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले नेपालका ऐतिहासिक परिवर्तनमा मिडियाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले नेपालमा राजनीति परिवर्तन भएसँगै अब जनताको जीविकोपार्जनका सवालमा पत्रकारहरू लाग्नुपर्ने बताउनुभयो । ‘विकृति, रुढीवाद र अन्धविश्वास लगायत विरुद्ध कानुन बनेका छन् । यस्ता सवालमा सञ्चार जगतले ग्रास रुटसम्म पुग्ने अभियान चलाउन जरुरी छ’ मन्त्री शर्माले भन्नुभयो ।

पछिल्लो समयमा केही तत्त्वहरूले नकारात्मक सन्देश प्रवाह गरेर जनतामा भ्रम सृजना गरिरहेको भन्नुहुँदै त्यसविरुद्ध मिडियाले सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । सामाजिक सञ्जालको सञ्चालन तथा नियमन गर्ने विधेयक प्रस्तावना गरिएको र यसले सामाजिक सञ्जाल व्यवस्थित गर्ने विश्वास आफ्नो रहेको मन्त्री शर्माको भनाइ थियो ।

५०० वाट सम्मका रेडियोका फ्रिक्वेन्सी नवीकरणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यतालाई केही सहज बनाउन जिल्लाबाटै नवीकरणको व्यवस्था गरिएको मन्त्री शर्माले बताउनुभयो ।

मन्त्री शर्माले पत्रकार महासङ्घ साझा सङ्गठन भएकाले सबैको साझा र सहभागिता रहने गरि सहमतिमा नयाँ नेतृत्व चयन गर्न महासङ्घलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button