तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा श्रमको मूल्य कमी भएकाले वैदेशिक आकर्षण बढ्यो : मुख्यमन्त्री महरा

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले नेपालको शिक्षा प्रणाली शैक्षिक बेरोजगार उत्पादन गर्ने कम्पनी जस्तै भएको बताउनुभएको छ । स्वदेशमा प्राप्त गरेको प्रमाणपत्रले विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना हुनुले विदेश मोह बढेको उहाँको तर्क रहेको छ ।

शान्ति माध्यमिक विद्यालय मालारानी गाँउपालीका ५ वागीको हिरक महोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले नेपालमा श्रमको मूल्य कमी भएकाले युवाहरू वैदेशिक श्रम बजारतर्फ आकर्षित भएको बताउनुभयो । नेपालको श्रमको मूल्यले दैनिक गुजारा चलाउन नसक्ने समस्याले देश जनशक्ति विहीन हुँदै गएको बताउँदै मुख्यमन्त्री महराले श्रमको मूल्य बढाउन सकेमा नेपाली मात्र नभई विदेशी समेत आकर्षित हुनमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै उहाँले अर्घाखाँची जिल्ला शैक्षिक विकासका हिसाबले धेरै अगाडी पुगी सकेको हुनाले यसको निरन्तरता सँगै व्यावसायिक तथा वैज्ञानिक शिक्षातर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । व्यावसायिक शिक्षाले मात्र उत्पादन र रोजगारी सिर्जना गर्ने भएकाले उद्यमशीलता विकासका लागी व्यवहारिक ज्ञान अपरिहार्य भएकोमा जोड दिनुभयो । गुणस्तरीय शिक्षाको खोजीमा मानिस सहरतर्फ आकर्षित भएको दृष्टान्त सुनाउँदै उहाँले सरकारी विद्यालयमा राज्यले ठुलो लगानी गरेकोले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महराले लुम्बिनी प्रदेशको गौरबको आयोजना अन्तर्गत रहेको गच्छेभालुवाङ्ग सडक आगामी बर्ष पूर्ण कालोपत्रेको काम सम्पन्न हुनेमा शङ्का नगर्न आग्रह समेत गर्नुभयो । उहाँले विगतको सरकारले प्राथमिकतामा राखेका योजना यो सरकारले पुरा गर्ने गरी आफु लाग्ने जानकारी गराउनुभयो ।

अर्घाखाँची,गुल्मी र पाल्पालाई छोटो दुरीले प्रदेश राजधानी सँग जोड्ने यो सडक विगतको सरकारका नजरमा पर्न नसकेको भन्दै आगामी बर्ष काम सम्पन्न हुनेगरी बजेटमा सम्बोधन गरिने बताउनुभयो ।

अर्घाखाँची जिल्ला भूगोलले प्रदेश राजधानी सँग जोडिएको भएकाले पनि विकासको प्राथमिकता बढी हुने बताउनुभयो । 

त्यस्तै लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने बताउनुभयो  । जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने बताउँदै लुम्बिनीको विकासका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाको विकासमा बिगत देखिनै सबै दल एकजुट भएको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तरता पाउनेमा आशावादी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button