तपाईँ सुन्दै हुनुहुन्छः

‘हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै हो’ : राष्ट्रपति पौडेल

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताउनुभएको छ ।

विश्व सम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताउनुभयो । “यसको लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकाङ्क्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रूप दिन अनिवार्य छ,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेन वंशी राजा त्रिविक्रम सेनदेखि नै शाह काल, राणा काल र पञ्चायत काल सम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरू र स्मारकहरू लुकेर रहेको चर्चा गर्दै उहाँले तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा व्यक्त गर्नुभयो । “अहिले तनहुँसुरलाई यता चुँदीतिरबाट र उता दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भइरहेको छ, दक्षिणतिर भगवती रंगपथसमेत गरी तीनै तिरबाट पक्की बाटो तनहुँसुर ताकेर बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्, डाँडका दिन फर्कँदै छन्”, उहाँले भन्नुभयो ।

नेपालको इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व राखेको तनहुँसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमा समेत गौरवपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले मुलुकका राजनीतिक परिवर्तनका लागि सात सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाउँबाट गरिएको स्मरण गर्नुभयो । त्यतिखेर बन्दीपुरमा भएको सङ्घर्षमा राणा फौजको गोली लागि ६ जना सपुतहरू धर्म ध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर राना मगर, चन्द्रबहादुर सार्की (नेपाली) र खड्ग बहादुर गोदारले सहादत प्राप्त गरेका थिए । वि।सं २०१८ सालमा पनि धेरै सहिद भए जसमध्ये बुद्धसिंह राना मगर यसै क्षेत्रका थिए । “म ती शहीदहरूप्रति यस अवसरमा सम्मान अर्पण गर्दछु, यसरी देशको लागि प्राणाहुति दिने ती सहिदहरू र शहीदका परिवारप्रति राज्यले गर्नुपर्ने दायित्व अझै पूरा हुन बाँकी छ”, उहाँले भन्नुभयो ।


आफ्नो राजनीतिक जीवनको अत्यन्त कठिन सङ्घर्षका दिनहरूमा यस क्षेत्रबाट प्राप्त गरेको सद्भाव र २०४६ को परिवर्तनपश्चात् सम्पन्न आम निर्वाचनहरूमा प्राप्त जनविश्वासबाट यसै क्षेत्रको प्रतिनिधिको हैसियतले संसदमा प्रतिनिधित्व गर्ने शुभ अवसर मिलेको तथा शान्ति प्रक्रियादेखि संविधान निर्माणमा समेत योगदान दिने अवसर प्राप्त भएको उहाँले स्मरण गर्नुभयो । “यसका निमित्त म यस जिल्लाका जनताप्रति सदैव कृतज्ञ छु र अहिले मुलुकको संविधानको संरक्षकका हैसियतले तपाईहरू बीच यस कार्यक्रममा आउने अवसर पाउँदा मलाई गर्वको अनुभूति भएको छ, यो सबै तपाईहरूकै शुभेच्छा एवं सद्भावबाट सम्भव भएको हो भन्ने मैले ठानेको छु र यसप्रति म आभार व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

सेन राज्यकालीन तनहुँसुर तत्कालीन राज्य सञ्चालनको केन्द्र मात्र नभई संस्कृत, मैथिली, भोजपुरी र फारसी भाषाका विद्धानहरूको बौद्धिक केन्द्र«समेत रहेको पाइन्छ । खासगरी चुँदी उपत्यकामा संस्कृत विद्वानहरूको ख्याति काशी नगरी (भारत) सम्म फैलिएको इतिहासमा उल्लेख छ । त्यही शैक्षिक एवं विद्वत परम्परामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको र नेपालीभाषी जगतमा प्रसिद्धि फैलिएको थियो ।

यसैलाई उजागर गर्दै चुँदी–रम्घामा भानु साहित्य उद्यानको वृहत् योजना प्रारम्भ गरिएको तथा दमौलीमा वेदव्यासको १०८ फिट अग्लो विशिष्ट शैलीको मूर्ति निर्माण भइरहेको, पर्यटकीय नगरी बन्दिपुर र तनहुँसुरमा शहीद पार्कको निर्माण आदिबाट तनहुँमा पर्यटनका विविध गन्तव्यहरूको विकास हुन लागि रहेको स्पष्ट झलक मिलेको उहाँले बताउनुभयो । “पछिल्लो समयमा बन्दिपुर, दमौली, मानुङलगायतका धार्मिक, ऐतिहासिक, र सांस्कृतिक क्षेत्रहरूसँगै ऐतिहासिक तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ, पृथ्वीराजमाार्ग हुँदै प्रसिद्ध पर्यटकीय नगरी पोखरा पुग्ने स्वदेशी विदेशी पर्यटकहरूलाई तनहुँसुरलगायतका जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गर्न आकर्षित गर्नुपर्ने आवश्यकता छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले यस क्षेत्रमा नेपाल सरकार वन मन्त्रालयले “भानु प्राणी उद्यान” योजना समेत अगाडि सार्नु प्रशंसनीय रहेको तर कार्यान्वयन पक्ष ढिलो भएको हुँदा यसप्रति सम्बन्धित निकायको ध्यान जाने र यो योजनाले साकार रूप लिने नै छ भन्ने विश्वास व्यक्त गर्नुभयो । देशकै गौरवका योजनामध्ये एक तनहुँ जलविद्युत योजना हाम्रो धेरै प्रयास पश्चात् आएको हो र अहिले कार्यान्वयनको चरणमा छ भन्दै उहाँले अर्को योजना तल्लो सेती जलविद्युत परियोजना समेत प्रारम्भ हुने चरणमा पुगेको उल्लेख गर्नुभयो । “यस्ता आयोजनाहरूसँगै जोडिएको तनहुँसुर सम्पदा क्षेत्र जस्ता पिछडिएका क्षेत्रमा अधिकाधिक विकासको प्रतिफल पु¥याउनु नै तीनै तहका सरकारको लक्ष्य हुनुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।


“विगतमा तनहुँसुर आफैमा एउटा प्राकृतिक किल्ला थियो , यसको ऐतिहासिक र रणनीतिक महत्व पनि छ, सिङ्गो नेपाल यस्तै रणनीतिक महत्वमा अडिएको र बाँचेको छ, यस्तै प्राकृतिक अवस्थाले नेपाललाई बचाएको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button