तपाईँ सुन्दै हुनुहुन्छः

‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ प्रदर्शनी सुरु

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आजदेखि ‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ प्रदर्शनी सुरु भएको छ ।

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सुरु प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । ‘हिमालयको रहस्य’ प्रदर्शनीमा कलामार्फत नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर असरबारे जानकारी दिइएको छ । 

यस्तै ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ को राष्ट्रिय ललितकला पुरस्कार विजेतालाई हौसला प्रदान गर्न गरिएको हो ।

कुलपति हार्तम्छालीले भन्नुभयो, “यस प्रदर्शनीमा वातावरण परिवर्तनले हिमालमा परेको प्रभावलाई कलाकारले कलामार्फत कलात्मक रूपले प्रस्तुत गर्नुभएको छ, हिमाल बचाउने अभियानमा कलाकारको पनि विशिष्ट भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको हो ।”

समारोहमा उपकुलपति लालकाजी लामाले हिमाल जीवन र जगत्सँग जोडिएको विषय भएकाले हिमाल भए पानी हुने र पानी भए जीवन हुने भन्दै जलवायु परिवर्तनले नेपाललगायत पर्वतीय देशमा परेको असरलाई गम्भीर रूपमा लिनका लागि सचेतना फैलाउन कार्यक्रम गरिएको बताउनुभयो ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८औँ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप–२८’ मार्फत उठाएका एजेन्डालगायत विविध विषय समेटिएको बताउनुभयो ।

उहाँले प्राणीजगत् जीवनसँग हिमाल जोडिएकाले पछिल्लो समय जलवायु परिवर्तनले यसमा पारेको असरबारे सम्बद्ध सबै सचेत हुनुपर्ने बताउनुभयो । ‘हिमालयको रहस्य’ प्रदर्शनीमा ६९ कलाकारका सृजना प्रस्तुत गरिएका छन्भने ‘सिर्जनावृत्ति’ कला प्रदर्शनीमा उद्धव रिमाल (समसामयिक चित्रकला), विनय रिमाल (प्रतिस्थापन कला), रिसिता खत्री (समसामयिक मूर्तिकला), नम्रता सिंह (लोककला) र राजप्रकाश मान तुलाधर (परम्परागत चित्रकला) ले सहभागिता जनाउनुभएको छ ।

‘हिमालयको रहस्य’ प्रदर्शनीका संयोजन कलाकार केशवराज खनालले प्रस्तुत गर्नुभएको थियो भने प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदीप शाक्यले गर्नुभएको हो । प्रदर्शनी यही वैशाख ७ गतेसम्म चल्ने छ । प्रतिष्ठानले केही महिनाअघि नै उक्त विषयमा कला सृजना गर्न सार्वजनिक आह्वान गरेको थियो । सोही आधारमा कलाकारले बनाएका सिर्जना आजदेखि प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button