तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकलाई अस्थिर राजनीतिबाट मुक्ति दिलाउन काँग्रेसले पहल गर्ने : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई अस्थिर राजनीतिबाट मुक्ति दिलाउन नेपाली काँग्रेसले पहल गर्ने बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले सत्ता परिवर्तन र व्यवस्थाको अन्त्यको लागि कसैले छलकपट गरे काँग्रेस पार्टी चुप लागेर नबस्ने बताउनुभयो ।

राजा पुनस्थापनाका लागि भइरहेको आन्दोलन अनुपयुक्त रहेको भन्नुहुँदै सभापति देउवाले जनताको नैराश्यता अन्त्य, आर्थिक वृद्धि र गणतन्त्रको रक्षाको लागि नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले देशमा असन्तोष र अराजकताले प्रश्रय पाएको भन्दै अहिलेको जटिल परिस्थितिलाई सम्हाल्न सबै राजनीतिक दलहरू एक हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा.प्रकाशचन्द्र लोहनी, डा.लोकराज बराल, सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलगायतले स्वर्गीय सूर्य बहादुर थापाको आर्थिक, प्रशासनिक र राजनैतिक व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button