तपाईँ सुन्दै हुनुहुन्छः

करिब पचास लाख लागतको सातौँ मेयरकप भोजपुर गोल्डकप 

भोजपुर । करिब पचास लाख लागतमा भोजपुरको प्रतिष्ठित सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रतियोगिताको बारेमा जानकारी दिनुहुँदै आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले आगामी वैशाख ९ गतेबाट १५ सम्म सञ्चालन हुने प्रतियोगिताको कुल लागत खर्च ४९ लाख २५ हजार पाँच सय हुने बताउनुभयो । जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगितामा यस बर्ष भने भारतको एक सहित नेपालका दुई ए डिभिजन क्लबले पनि भाग लिने छन् ।

भोजपुर नगरपालिका वडा नम्बर ७, कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने छन् । जसमा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल संघ रहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम सङ्कलन गरिने आयोजक संस्थाका अध्यक्ष सुवालले जानकारी दिनुभयो । अहिलेसम्म करिब नौ लाख रकम सङ्कलन भई सकेको छ भने अन्य रकम पनि सङ्कलन गरिने छ । प्रतियोगिता सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई आयोजक संस्थाले आग्रह समेत गरेको छ । 

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैक लिमिटेड रहेको छ भने प्रायोजकहरूमा साल्ट ट्रेडिङ कर्पोरेसन, शिबम फुटवेयर्स प्रालि, साङ्ग्रिला चप्पल, यु डि विल्डर्स भोजपुर र तेज कन्ट्रक्सन काभ्रे रहेको आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ। 

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् ।अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button