तपाईँ सुन्दै हुनुहुन्छः

सिस्नु लगाउँदै नयाँ वर्षको प्रारम्भ,सुदूरपश्चिममा विसु पर्वको रौनक

कञ्चनपुर । नयाँ वर्ष वि.सं. २०८१ सालको आज पहिलो दिन वैशाख १ गते ,सुदूरपश्चिमका पहाडी समुदायले विसु पर्व मनाउँदै छन् ।

हरेक वर्ष वैशाख एक गतेलाई सुदूरपश्चिमेलीहरूले विसु पर्वका रूपमा मनाउने गर्दछन् । खास गरी सुदूरपश्चिमका पहाडी ७ जिल्ला र यिनै जिल्लाबाट कञ्चनपुर र कैलाली बसाई सरी आएकाहरूले पनि नयाँ वर्षलाई विसु पर्वका रूपमा मनाउने गर्दछन् । विसु पर्वमा मिठामिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन पनि रहेको छ । एकआपसमा सिस्नु लगायो भने सबै विष नष्ट हुन्छ भन्ने जनविश्वास भएकोले यसो गरिने स्थानीय बताउँछन् ।

यो पर्वमा विशेष गरेर देवर(भाउजू, नन्द(भाउजू, साली(भिनाजुले सिस्नो लगाउने गर्दछन् । तर पछिल्लो समयमा यो प्रचलन लोप हुँदै गएको छ । स्वास्थ्यका दृष्टिकोणले पनि सिस्नुलाई औषधीय गुण भएको वनस्पतिका रूपमा लिइन्छ । यसको स्पर्शले मात्रै पनि शरीरमा भएको विष नष्ट हुने मान्यता रहेको छ ।

 यस्तै, सुदूरपश्चिमकै डोटी, अछाम, बझाङ र बाजुरामा आज पुत्ला खेल्ने बिसुलोडा चलाउने परम्परा रहेको छ । नयाँ वर्षमा कसैलाई रोग नलागोस्, शरीरमा भएका सबै विषहरू नष्ट होउन् भनेर विसुलोडा चलाउने मान्यता छ । यस समयमा सुदूरपश्चिमेलीहरूका घरघरमा लिपपोत तथा रंगरोगन गरी घर तथा विभिन्न शक्ति पीठहरूमा पनि पूजाआजा गरिन्छ । पढाइ तथा रोजगारको सिलसिलामा देशका अन्य सहर तथा विदेश गएका सुदूरपश्चिमेलीहरू विसु पर्व मनाउन कै लागि घर फर्किएपछि सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा विसुको चहलपहल झन् बढेको छ ।

सुदूरपश्चिमकै तराईका जिल्ला कञ्चनपुर र कैलालीका थारु समुदायले माघ १ गते मकर सङ्क्रान्तिका दिन नयाँ वर्ष मनाउने भए पनि हाल आएर थारु समुदायले पनि आजका दिन मिठामिठा खानेकुराहरू खाने, साथीभाइ तथा आफन्तजनसँग भेटघाट गर्ने, एक आपसमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् । नेपाल सरकारले नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button