तपाईँ सुन्दै हुनुहुन्छः

गोष्ठीले सुशासन स्थापनमा मद्दत गर्ने गृहमन्त्रीको विश्वास

जनकपुरधाम । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश स्तरीय सुरक्षा गोष्ठीले मधेश प्रदेशमा शान्ति सुरक्षामा थप प्रभावकारिता आउने बताउनुभएको छ ।

उपप्रधानमन्त्री लामिछानेले गृह मन्त्रालय तथा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न भएको सुरक्षा गोष्ठीपछि आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

उहाँले शान्ति सुरक्षाका साथै सिमानामा हुने अवाञ्छित क्रियाकलाप तथा राजश्व सङ्कलनमा परेको नकारात्मक प्रभाव सहितको विषयमा छलफल भएको बताउँदै यसले राजश्व सङ्कलनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री लामिछानेले सुरक्षा गोष्ठीमा चारै सुरक्षा अङ्गका प्रमुखहरूको सहभागिता रहेकाले यसले प्रदेशमा शान्ति सुरक्षाका साथै सेवा प्रवाह, सुशासन स्थापनमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रहरी समायोजन चाँडै हुने बताउँदै समायोजनको तिथि र मिति तोकेर भन्ने अवस्था नभए पनि समायोजनको पक्षमा वर्तमान सरकार रहेको बताउनुभयो ।

एक प्रश्नको जवाफमा उपप्रधानमन्त्री लामिछानेले सबै प्रकारको अनियमितता तथा भ्रष्टाचारको छानविन गर्नका लागि उच्च स्तरीय आयोग बन्नुपर्ने पक्षमा आफूसहित सत्ता पक्ष रहेको बताउँदै एउटा विषयमा केन्द्रित हुन नचाहेको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले मिटर व्याज पीडितहरूको समस्या समाधान गर्नका लागि वर्तमान सरकार विभिन्न जटिलताका बीच अगाडी बढिसकेको बताउँदै पीडितको पक्षमा आफूले पदबहाली गरेदेखि नै लागिपरेको र स्पष्ट कार्यादेशसहित उच्च स्तरीय छानविन समिति गठन गरिएको बताउनुभयो ।

गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी, गृह सचिव एकनारायण अर्याल, अर्थ सचिव कृष्णहरि पुष्कर, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त कुँवर सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उच्च अधिकारीको सहभागिता थियो ।

साथै गोष्ठीमा मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा तथा पर्साका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरीका उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button