तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले र माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

मोरङ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित चार वटा छुट्टाछुट्टै पत्र आज संयुक्त रुपमा बुझाएका छन् ।

प्रदेश प्रमुख खापुङलाई नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा (माओवादी केन्द्र)का संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ जना सांसदको हस्ताक्षरसहित उक्त पत्र बुझाउनुभएको हो ।

प्रदेश प्रमुख खापुङ समक्ष उहाँहरूले नेकपा एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आव्हान गर्न, वैकल्पिक सरकार गठन र समर्थन फिर्ताको गरी चार वटा पत्र बुझाउनुभयो ।

प्रदेश प्रमुख खापुङले पत्र बुझ्दै आवश्यक कानूनी सरसल्लाहबाट चाँडै संसद्को विशेष अधिवेशन आव्हान गर्ने बताउनुभयो ।

सो अवसरमा नेकपा एमाले र माओवादी केन्द्रका पूर्व मन्त्री तथा सांसदहरूको उपस्थिति रहेको थियो । यस अघि कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button