तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्न सरकार सकारात्मक : अर्थमन्त्री पुन

वीरगन्ज । अर्थमन्त्री वर्षमान पुनले वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित राजश्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले वीरगन्जलाई आर्थिक नगरी घोषणाको मागमा आफ्नो समर्थन रहेको बताउनुभयो । मधेस प्रदेश सरकारसंगको समन्वयमा वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्न संघीय सरकार सकारात्मक रहेको उहाँको भनाइ थियो ।

देश विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री र आफू स्पष्ट रहेको भन्दै अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रका जायज गुनासोको सम्बोधन बजेटमार्फत गरिने दाबी गर्नुभयो ।

सरकारले व्यवसायीलाई काखापाखा नगरी अविभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको आर्थिक मेरुदण्ड नै उद्योगी व्यवसायी भएको बताउनुभयो ।

उहाँले हाल मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहे पनि केही देशहरूमा भई रहेको युद्ध र महामारीजस्ता कारणले विश्वव्यापी आर्थिक मन्दीको नकारात्मक असर नेपालमा समेत परेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पुनले हाल उदीयमान अर्थतन्त्र भएका भारत र चीनको आर्थिक वृद्धिदर राम्रो रहेको चर्चा गर्दै क्षेत्रीय अर्थतन्त्रको फाइदा नेपालले लिन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार परिवर्तन भएपनि नीतिगत निरन्तरता हुनुपर्नेमा आफू स्पष्ट रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button