तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी घटना : दोषी पहिचान गरी कारबाहीको दायरामा ल्याउने निर्णय 

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज सम्पन्न सर्वपक्षीय बैठकले दोषी पहिचान गरी कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

सर्वपक्षीय बैठकले सुनसरीको हरिनगर गाउँपालिकामा घटेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

बैठकले आन्दोलनरत सबै पक्षलाई आफ्ना सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन सम्पूर्ण राजनीतिक दल तथा सम्वद्ध पक्षहरूमा अपिल समेत गरेको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकले सुनसरीको हरिनगर गाउँपालिकामा उत्पन्न भएको दुई समुदाय बीचको विवादलाई विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक, जातीय तथा सामाजिक सद्भाव खलल पुर्‍याउने किसिमका अभिव्यक्ति तथा सामाग्रीहरू सामाजिक सञ्जालमा पोष्ट नगर्न/नगराउन अनुरोध गरेको छ । 

मिश्रित बसोबास रहेको हाम्रो नेपाली समाज एक आपसमा आपसी भाइचारा कायम गरी बस्दै आएकोमा पछिल्लो घटनाक्रमलाई लिएर केही अराजक तत्वले सामाजिक सद्भाव बिथोल्ने खोजेका प्रति सुनसरीका सबै राजनीतिक दलले खेद प्रकट गरेको छ । 

सर्वपक्षीय बैठकले जारी गरेको संयुक्त अपिलमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त  मुलुक भएको हुँदा सामाजिक सांस्कृतिक, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने, वर्गीय जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैङ्गिकजस्ता पक्षहरूको सम्मान र संरक्षण गर्ने राज्यको दायित्व र सङ्कल्प भएको तथा सोही अनुसार राज्य  सञ्चालन हुँदै आएको हामी सबैमा सबैमा विदितै छ ।” 

सुनसरीका विभिन्न स्थानीय तहहरूमा विभिन्न किसिमका घटनाहरू हुँदै आएकोले समग्र सुनसरी जिल्लाको शान्ति सुरक्षामा चुनौती थपिएको पनि संयुक्त अपिलमा उल्लेख गरिएको छ ।  

सर्वपक्षीय बैठकमा कोशी प्रदेशका सांसदहरु रामदेव यादव, सदानन्द मण्डल र ईस्राइल मंसुरी, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, हरिनगरका अध्यक्ष हाजी गफार अन्सारी, देवानगंजका अध्यक्ष बेचनप्रसाद मेहता, कोशीका अध्यक्ष ऐयुव अन्सारी, भोक्राहा नरसिंहका अध्यक्ष अजमल अख्तर मियाँ, देवानगंजकी उपाध्यक्ष कुमारी विभा यादव, नेकपा एमाले सुनसरीका रुद्रबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका योगेन्द्रप्रसाद मण्डल (पप्पु), राष्ट्रिय स्वतन्त्र पार्टीका सागर दाहाल, नेकपा एकीकृत समाजवादीका गोविन्द निरौला, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद सुवेदी, जनता समाजवादी पार्टीका भगिरथ खत्वे, नेकपा मालेका डिल्लीराम भण्डारी र नेपालको लागि नेपाली पार्टीका डम्बरबहादुर घिमिरे सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button