तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिमैत्री शिक्षामा जोड दिन विद्यालयलाई निःशुल्क इन्टरनेट सेवा

सुनसरी । नेपाल दूरसञ्चार प्राधिकरण केन्द्रीय कार्यालयले  प्रविधिमैत्री शिक्षामा जोड दिन सरस्वती माध्यमिक विद्यालय दुहबीलाई निःशुल्क इन्टरनेट सुविधा प्रदान गरेको छ । 

प्राधिकरणले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरु गरेको हो ।

दूरसञ्चार कार्यालय दुहबीका प्रमुख इन्द्रजंग चौधरीले आज एक कार्यक्रमको आयोजना गरी राउटर र ५०  एमबिपिएसको अनलिमिटेड प्याकेज सहितको इन्टरनेट सेवा प्रधानाध्यापक तेज प्रसाद तिम्सिनालाई हस्तान्तरण गर्नुभयो ।  

नगरपालिका भित्रका विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन योजनाबद्ध रुपमा कामको थालनी गरिएको दुहबी नगरपालिकाका प्रशासकीय अधिकृत हिमालय बरालले बताउनुभयो  ।

अधिराज्यभरि नेपाल दूरसञ्चार प्राधिकरण केन्द्रीय कार्यालयले १ सय वटा विद्यालयलाई १ सय थान इन्टरनेट सेवा जडान गर्ने कार्यक्रम अन्तर्गत सुनसरी जिल्लामा दुहबीको सरस्वती माध्यमिक विद्यालय छनोट भएको हो । 

इन्टरनेट जडान गरिएपछि दुहबी–५ स्थित सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको कम्प्युटर ल्याबका विद्यार्थीहरूलाई सहज भएको प्रधानाध्यापक तेज प्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।  

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम र प्रविधियुक्त शिक्षा लिन सहज हुने दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारले बताउनुभयो  । प्रविधिको विस्तारले शिक्षाको गुणस्तरमा सुधार ल्याउन भूमिका खेल्ने उहाँको भनाइ छ ।

हाल विद्यार्थीहरू सहज रुपमा इन्टरनेटको माध्यमबाट कम्प्युटर शिक्षा लिइरहेका छन् । दुहबी नगरपालिकाले  नमुना विद्यालयमा रूपान्तरण गर्न सरस्वती माध्यमिक विद्यालयलाई कम्प्युटर र साइन्स ल्याबको व्यवस्था गरिदिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button