तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ ।

बुधबार सभामुख पदबाट राजीनामा दिएकी नोसिभिवे मापिसा–एनकाकुलालाई प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि उहाँलाई प्रिटोरियाको एक अदालतमा उपस्थित गराइएको छ ।‘मापिसा–एनकाकुलाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासहित भ्रष्टाचारका १२ वटा अभियोग लगाइएको राष्ट्रिय अभियोजन प्राधिकरणका भेकी मान्याथीले अदालतसमक्ष भन्नुभयो ।

अदालतमा पहेँलो र निलो रङ्गको पहिरन लगाएकी ६७ वर्षीया अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी) की नेता मापिसा एनकाकुला मौन रहनुभएको थियो र पछि उहाँलाई जमानतमा रिहा गरिएको थियो ।

उहाँका वकिल ग्राहम केर–फिलिप्सले मापिसा एनकाकुलालाई उद्धृत गरी जारी गरेको वक्तव्यमा लेखिएको छ, “मविरूद्धको मुद्दा निकै कमजोर र राजनीतिक पूर्वाग्रहले ग्रसित छ । मैले राज्यबाट निवृत्तिभरण पाउँछु त्यसैले मैले विदेश पलायनको जोखिम उठाउने छैन ।”

संसदीय निर्वाचन हुनुभन्दा दुई महिना पहिले आएको यो मुद्दाले कमजोर अर्थतन्त्र र सरकारी भ्रष्टाचार र कुव्यवस्थापनको आरोपका बीच जनमत सर्वेक्षणमा संघर्ष गरिरहेको एएनसीको समस्यालाई थप बढाएको छ ।

राष्ट्रपति सिरिल रामाफोसा र उहाँका उपराष्ट्रपतिसहित एएनसीका वरिष्ठ राजनीतिज्ञमध्ये मापिसा–एनकाकुला पनि भ्रष्टाचारकाण्डमा मुछिनुभएको छ ।

उहाँमाथि सन् २०१४ देखि २०२१ सम्म रक्षामन्त्री हुँदा एक पूर्व सैन्य ठेकेदारसँग मोटो रकम घूस मागेको आरोप लागेको थियो । उहाँले उक्त आरोपको खण्डन गर्नुभएको छ ।

मान्याथीका अनुसार ती राजनीतिज्ञले ४५ लाख ¥याण्ड अर्थात् २ लाख ४० हजार अमेरिकी डलरभन्दा बढीको ‘उपहार’ माग्नुभएको थियो । उहाँलाई २१ लाख रुपैयाँ घूस दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् र आवश्यक परेकोसमयमा प्रमाण दिनसक्नेबताएका छन् ।

न्यायाधीशले ५० हजार ¥यान्डको जमानत तोक्दै मुद्दालाई जुन ४ सम्मका लागि स्थगित गर्नुभएको छ । यस क्रममा मापिसा–एनकाकुलाले आफ्नो राहदानी हस्तान्तरण गर्नु पर्नेछ र राज्यका साक्षीहरूसँग कुनै पनि सम्पर्कबाट बच्नुपर्नेछ ।

बुधबार मापिसा–एनकाकुलाले संसदको सभामुख र सांसदपदबाट तत्काल प्रभावका साथ राजीनामा दिनुभएको थियो ।

राजीनामा पत्रमा उहाँले आफू निर्दोष रहेको बताउनुभएको थियो तर संसदको निष्ठा कायम राख्न र आफूमाथिको अनुसन्धानमा ध्यान केन्द्रित गर्न आफूले राजीनामा दिने निर्णय गरेको बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, “ममाथि लगाइएका बहुचर्चित आरोपको गम्भीरतालाई ध्यानमा राख्दै म यो भूमिकामा रहिरहन सक्दिनँ ।”

जोहानेसबर्गको पूर्वी उपनगरमा रहेको मापिसा–एनकाकुलाको निवासमा गत मार्चमा उच्च अनुसन्धान टोलीका सदस्यहरूले छापा मारेपछि यो कदम चालिएको हो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button