तपाईँ सुन्दै हुनुहुन्छः

जाने हैन त जिरी महोत्सवमा (फोटो फिचर)

दोलखा । नेपालकै उत्कृष्ट पर्यटकीय नगरीमा दोलखाको जिरी पनि पर्दछ । काठमाडौँबाट १ सय ८८ किलोमिटर पूर्वमा अवस्थित जिरी सगरमाथाको प्रवेशद्वार पनि हो । पहिला हवाई तथा सडक यातायातको सुविधा नहुँदा जिरीबाटै पर्यटकहरू सगरमाथाका लागि जाने गर्दथे । त्यसकारण पनि जिरीलाई सगरमाथाको प्रवेशद्वार भनिन्छ ।


स्वीजरल्याण्डको जुरिच सहरको भू-बनोटसँग मिल्ने भएकाले यसको नाम जिरी राखिएको स्थानीयहरू दाबी गर्दछन् ।
दोलखा सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर पूर्वमा अवस्थित जिरीमा महोत्सवको सरगर्मी बढेको छ । जिरी उद्योग वाणिज्य सङ्घको आयोजना तथा युवा सञ्जाल जिरीको सह आयोजनामा चैत्र २३ देखि वैशाख २ गतेसम्म स्वदेश तथा विदेशका पर्यटकलाई जिरीले निम्तो दिइरहेको छ ।


त्यहाँको प्राकृतिक मनोरम दृश्य, धार्मीकस्थल, जिरेल रीतिरिवाज, चाल चलन, संस्कृति र मनलाई आनन्दित बनाउन एक पटक जिरी गएर आनन्द लिनुपर्ने त्यहाँ भ्रमण गरिसकेका पर्यटकहरूको अनुभव छ ।जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलले सुस्ताउँदै गएको अर्थतन्त्रलाई पुनर्ताजकी बनाउन पनि जिरी महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ । जिरी नगरपालिका शैक्षिक गन्तव्यका लागि पनि प्रख्यात छ । यहाँको प्राविधिक शिक्षालय आकर्षणको केन्द्र बन्दै आइरहेको छ ।
जिरी महोत्सवको प्रमुख आकर्षण


जिरी नगरभित्र रहेका प्रमुख प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेका चेर्दुङ डाँडा, हनुमन्ते, ठुलो नागी, गुराँस पार्क, स्टोन पार्क, एलुङ उपत्यका, वडा नम्बर ३ मा निर्माणाधीन गुरु रिम्पोचेको मूर्ति, बुद्ध पार्क, सिक्रीको जिरेल होमस्टे, प्रमुख धार्मिक स्थल जिरेश्वरी, हलेश्वरी माली लगायतका ठाउँहरू घुम्नलाई उद्योग वाणिज्य संघ जिरीले विभिन्न प्याकेज पनि बनाएको छ ।


होटेलबाटै घुम्न जाने पर्यटक वा बाहिरबाट गाडीबाट जाने पर्यटकलाई १० देखि २० प्रतिशत छुटमा घुमाउने व्यवस्था गरेको छ । जिरी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष एवं होटल व्यवसायी शिवस बस्नेतले महोत्सव अवधिभर जिरी आउने पर्यटकका लागि खाना बस्नमा सबै होटलहरुले १० प्रतिशत छुटको व्यवस्था गरेको बताउनुभयो ।
द्धितिय उपाध्यक्ष बस्नेतले जिरीमा आउने पर्यटकहरू निरास भएर फर्कन नपर्ने गरी तयारी गरिएको बताउनुभयो ।
महोत्सव अवधिभर हुने कार्यक्रम
जिरी महोत्सवको उद्घाटन चैत्र २३ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवमा जिरेल संस्कृति, विभिन्न झाकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम आयोजना हुने जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबु राजा श्रेष्ठले जानकारी दिनुभयो ।


महोत्सव अवधिमा बिहानको समयमा योगा कार्यक्रम हुने, ४० वर्ष उमेर पुगेकाहरूबिच भलिबल खेल प्रतियोगिता हुने, विभिन्न स्टलहरूमा जिरीको अर्ग्यानिक उत्पादन राखिने, राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी महोत्सवमा इलेक्ट्रिक गाडीको काठमाडौँबाट जिरीसम्म ¥याली गरी विद्युतीय गाडी पनि जिरी आउन जानसक्ने सन्देश दिने कार्यक्रम पनि रहेको छ ।


विशेष गरी बाहिरबाट आउने पर्यटकहरूलाई जिरीको शीतल र मनोरम प्राकृतिक वातावरणमा घुमाउनु, त्यहाँको संस्कृति, अर्ग्यानिक उत्पादन चखाउनु पनि हो । युवा सञ्जाल जिरीका अध्यक्ष जगदिश खड्काले जिरी महोत्सवको तयारी भव्य भइरहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘जिरी बजारलाई सुन्दर बनाउन विभिन्न बत्ती जडानदेखि बजारमा राष्ट्रिय झण्डा राखेका छौ, जिरी तालमा पनि सजावटको काम सकिएको छ’ ।


युवा सञ्जाल जिरीले विगतदेखि नै जिरीको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । सञ्जालले जिरीलाई पर्यटनको हब बनाउन विभिन्न खेलकुद प्रतियोगिता, स्ट्रिट फुड फेस्टिभल आयोजना गर्दै आइरहेको सञ्जालका अध्यक्ष खड्काले बताउनुभयो ।
नेपालमै पहिलो पटक प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन जिरीमा भएको भएपनि सञ्चालन भने हुन सकेको छैन तर युवा सञ्जाल जिरीले प्याराग्लाइडिङलाई सञ्चालन गरी पर्यटकलाई आकर्षण गर्ने लक्ष्य भने राखेको छ ।
तस्वीर सौजन्य: केन्द्रज्योती खड्का

प्रतिक्रिया राख्नुहोस्

Back to top button