तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली खानालाई अन्तर्राष्ट्रियरुपमा ‘ब्राण्डिङ’ गर्नुपर्छ : उपसभामुख राना

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाली खानालाई अन्तर्राष्ट्रियरुपमा ‘ब्राण्डिङ’ गर्नुपर्ने बताउनुभएको छ ।

रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को ३४औँ वार्षिक साधारणसभा तथा ११ औँ महाधिवेशनको उद्घाटनसत्रमा उहाँले नेपाली खानामा विविधता रहेकाले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न छुट्टै ‘ब्राण्डिङ’ गर्नुपर्ने बताउनुभएको हो ।

“नेपाली खानालाई विश्वमाझ पस्कन रेवानको महत्वपूर्ण भूमिका रहेको छ, रेवानले यस्ता कुरामा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय पर्यटनमा नेपाली जनशक्तिको उच्च माग रहेकाले रेस्टुरेन्ट एण्ड बारले दक्ष जनशक्ति उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा पु(याउनुपर्ने उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि रेवानले खेलेको भूमिका सह्रानीय रहेको बताउनुभयो । “अनुगमन गर्ने धेरै चिज छन् तर बजारमा आएर व्यवसायीलाई तर्साउने काम नगर्नुस्, पहिले सुन्ने अनि थुन्ने प्रवृत्तिको विकास गरौँ”, उहाँले भन्नुभयो । सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीले पछिल्लो समय नेपाली रेस्टुरेन्टमा गएर खाने संस्कृतिको विकास हुँदै गएको बताउनुभयो । “पाहुनालाई स्वच्छ र सफा खाना खुवाउनुपर्छ”, उहाँले भन्नुभयो, “नेपाली खानालाई विश्वमाझ चिनाउन रेवानको  भूमिका महत्वपूर्ण छ ।”

रेवानका वरिष्ठ उपाध्यक्ष सङ्घर्ष विष्टले रेवानले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि काठमाडौँ, पोखरा, सौराहा, बन्दीपुरलगायतका पर्यटकीय क्षेत्रमा सडक महोत्सव आयोजना गरिरहेको बताउनुभयो ।

कोरोना महामारीबाट मारमा परेको अर्थतन्त्रलाई सडक महोत्सवले सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले भ्याटलाई १३ प्रतिशतबाट घटाएर एकल अङ्कमा झार्नुपर्ने र सबै व्यवसायीलाई भ्याटको दायरमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो । विष्टले रेस्टुरेन्ट व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गर्नुभयो ।

रेवानको अध्यक्षमा विष्ट निर्वाचित

रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल ९रेवान०को अध्यक्षमा सङ्घर्ष विष्ट निर्वाचित हुनुभएको छ । रेवानको ३४औँ वार्षिक साधारणसभा तथा ११औँ महाधिवेशनबाट विष्टको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

रेवानको प्रथम उपाध्यक्षमा नरेसध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्ष पोखराबाट लक्ष्मण बराज, क्षेत्रगत उपाध्यक्ष सौराहाबाट नरेश गिरी, महासचिव शरदकुमार दाहाल, कोषाध्यक्ष विप्लब भट्ट, सचिव सचिन कर्माचार्य, सहकोषाध्यक्ष उद्धव ढकाल निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा अनुपलाल कक्षपति, नृपेश श्रेष्ठ, गुणराज श्रेष्ठ, तेजस सुन्दरलाल कक्षपति, रितेज श्रेष्ठ र डोलबहादुर थापा सारु, एकराज अधिकारी र देवेन्द्र गिरी निर्वाचित हुनुभएको छ । 

निवर्तमान अध्यक्ष अरनिको राजभण्डारी स्वतः सदस्य हुने व्यवस्था छ । रेवान पोखराबाट सदस्यमा नरेश भट्टराई, रेवान सौराहाबाट ध्रुव गिरी, रेवान बन्दीपुरका जीतेन्द्रलाल भूमि र रेवान चितवनका अच्युत भट्ट निर्वाचित हुनुभएको छ । विगत ३५ वर्षदेखि नेपालको रेष्टुरेन्ट व्यवसायमा संलग्न विष्टले अध्यक्ष निर्वाचित भएपछि रेवानलाई नेपाल अधिराज्यभर विस्तार गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button