तपाईँ सुन्दै हुनुहुन्छः

श्रममन्त्री अर्याल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । 

आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा श्रममन्त्री अर्यालले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न विकास साझेदारहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले आगामी दिनमा नेपाल सरकारले न्यूनतम ज्यालामा आधारित रोजगारी सिर्जना मात्र नभई श्रम बजारको मागका आधारमा सीप विकासमा लगानी गर्ने बताउनुभयो ।

मन्त्री अर्यालले सीपयुक्त जनशक्तिको निर्माण गरी सक्रिय श्रम बजारको स्थापना, स्वरोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

भेटमा नेपालका लागि स्विस राजदूत डा डेनियलले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित रोजगार सेवा केन्द्र सुदृढीकरणको बारेमा चर्चा गर्नुभयो । स्विस सरकार, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) तथा विश्व बैङ्कको सहकार्यमा सञ्चालित यो कार्यक्रम रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता विकासमा केन्द्रित छ ।

उक्त भेटमा विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जवीस र एफसिडिओका प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो । विश्व बैंकका नेपाल निर्देशक जविसले विश्व बैङ्कको सहयोगमा सञ्चालित ‘युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना’ (यति) को अवधि थप गर्न विश्व बैङ्क इच्छुक रहेको बताउनुभयो । 

उहाँले आयोजनामार्फत नेपालको आन्तरिक रोजगारी प्रवद्र्धन, सीप विकासका कार्यक्रम सञ्चालन, राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको निर्माण र स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता विकास गरी एकीकृत श्रम रोजगार सेवालाई प्रभावकारी बनाउन विश्व बैङ्क प्रतिबद्ध रहेको बताउनुभयो । 

सन् २०२० जुन ३० देखि विश्व बैङ्कको सहयोगमा मन्त्रालयले ‘यति’ परियोजना सञ्चालन गर्दै आएको छ । यस परियोजनामार्फत विश्व बैंकले नेपालमा आन्तरिक रोजगारीको सिर्जना, श्रमिकको सीप विकास, श्रम बजारको नतिजामा सुधार तथा राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली (नेमिस) निर्माण गर्ने प्रतिबद्धता गरेको छ । आगामी ‘जुन’ महिनामा परियोजनाको अवधि सकिँदै छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button