तपाईँ सुन्दै हुनुहुन्छः

गाजा आक्रमणमा खाद्यान्न झार्दै गरेका सात सहायताकर्मीको मृत्यु

काठमाडौँ । अमेरिकास्थित एक परोपकारी संस्थाले साइप्रसबाट समुन्द्री मार्ग हुँदै गाजामा वितरण गर्न लगिएको खाद्यान्न सामग्री झार्ने क्रममा इजरायली आक्रमणमा आफ्ना सात कर्मचारीको मृत्यु भएपछि गाजाको सहायता अभियान स्थगन गरिएको जनाएको छ ।

“गाजामा आईडीएफको आक्रमणमा हाम्रो टोलीका सात जना सदस्य मारिएका छन्,” अमेरिकास्थित च्यारिटी ‘वर्ल्ड सेन्ट्रल किचन’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मृत्यु हुनेमा अस्ट्रेलिया, पोल्याण्ड, अमेरिका, क्यानडा र प्यालेस्टाइनका नागरिक रहेका बताइएको छ ।

मानवीय सहायता प्रदान गर्ने क्रममा सहायताकर्मीको मृत्यु भएपछि विश्व समुदायबाट यस घटनाको चौतर्फी आलोचना भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजामा सहायता वितरण गने क्रममा मारिएका एक अस्ट्रेलियाली नागरिकको मृत्युमा पूर्ण जबाफदेहिताको माग गर्नुभएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रिएन वाट्सनले ह्वाइट हाउस यस घटनाप्रति चिन्तित भएको बताउनुभएको छ ।

हिजो मात्रै इजरायली सेनाले अल–शिफा अस्पताल र त्यस वरपर दुई हप्ता लामो सैन्य अभियान सकाएको थियो । अभियानपछि इजरायली सेनाले अस्पतालका भवनहरूमा आगो लाउनुका साथै केही मानिसहरूको टैंकरले किचेर हत्या गरेका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायली सीमा प्रवेश गरि करिब १२ सय जनाको हत्या गरेपछि शुरु भएको युद्धमा हालसम्म करिब ३३ हजार प्यालेष्टिनीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button