तपाईँ सुन्दै हुनुहुन्छः

लप्चीमा रहेको ८१० वर्ष पुरानो गुम्बा पुर्ननिर्माण 

दोलखा । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त लप्चीमा अवस्थित लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्रको पुर्ननिर्माण सम्पन्न भएको छ । 

प्रभु जिग्टेन सुम्गोन, द्वितीय नार्गजुनको आध्यात्मिक मार्गदर्शन तथा आर्थिक सहयोगमा गुम्बाको पुर्ननिर्माण सम्पन्न भएको लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्रको सचिव खेम्बु ङुटुपले बताउनु भयो ।

नौ सय ३५ बर्ष अघि मिलारिपा लप्चीमा आएर ध्यान गरेको विश्वास गरिन्छ । मिलारिपाले ध्यान गरेको स्थानमा आठ सय १० बर्ष अघि थुन्जीन एरुपाटाले लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्रको निर्माण गरेको र सोही समय देखिनै प्रभु जिग्टेन सुम्गोन, द्वितीय नार्गजुनको पवित्रताले गुम्बा तथा ध्यान केन्द्रको संरक्षण गरिरहेको गुम्बाका प्रमुख थुन्डुप पाल्देन शेर्पाले बताउनु भयो । यो गुम्बामा मिलारिपाको पाइला समेत रहेको गुम्बाका सचिव खेम्बु ङुटुपको भनाई छ ।

पुर्ननिर्माण गरिएको गुम्बा तथा ध्यान केन्द्रको उद्घाटन आगामी २०८१ साल जेठ १० गते गरिने सचिव खेम्बु ङुटुपले बताउनु भयो । गुम्बा उद्घाटन कार्यक्रममा आर्शिवादको लागि ड्रिकुंग क्याब्गोन कोन्चोक टेन्जिन कुन्सांग थ्रिन्ले लुन्द्रप– ड्रिकुंग काग्युको ३७ औ गद्दीधारीको उपस्थिति रहने गुम्बाका प्रमुख थुन्डुप पाल्देन शेर्पाले बताउनु भयो ।

कार्यक्रम अनुसार जेठ ८ गते ड्रिकुंग क्याब्गोन लप्चीमा पुग्ने, जेठ ९ गते गुम्बामा पूर्व पूजा समारोह हुने, जेठ १० गते पुर्ननिर्माण गरिएको गुम्बाको उद्घाटन हुने र जेठ १४ गते दीर्घायु पूजा गरिने स्थानीय फुर्वा शेर्पाले बताउनु भयो । 

लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्रमा विभिन्न देशका मानिसहरू ले तीन देखी १५ वर्षसम्म ध्यान गर्ने गुम्बाका सचिव खेम्बु ङुटुपले बताउनु भयो । अहिले पनि केन्द्रमा विभिन्न देशका ४० जना ध्यानमा रहेको खेम्बु ङुटुपले बताउनु भयो । लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्रको लागि आवश्यक खर्च संरक्षणकर्ता र अनुयायीहरू बाट प्राप्त हुने सचिव खेम्बु ङुटुपको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button