तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा दलित विद्यार्थीका लागि आवास गृहको शिलान्यास 

बुटवल । जातीय विभेद र आर्थिक अभावका कारण कोठा नपाएर बीचमै पढाई छाड्ने दलित विद्यार्थीका लागि बुटवलमा दलित आवास गृह निर्माण गरिने भएको छ । 

सोमबार एक कार्यक्रम आयोजना गरि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयद्वारा आवास गृहको शिलान्यास गरिएको हो । बुटवल उपमहानगरपालिका र गौतमबुद्ध समता समावेशी समाजको संयुक्त पहलमा भवन निर्माण निर्माण गर्न लागिएको बताइएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १२ स्थित तामनगरमा जिल्लामै पहिलो पटक दलित विद्यार्थीका लागि आवास गृह निर्माण गर्न लागिएको नगर प्रमुख पाण्डेले जानकारी दिनुभयो । 

नगर प्रमुख पाण्डेले आर्थिक रुपमा अति विपन्न तथा शहरमा घर नहुने जेहेन्दार विद्यार्थीले छात्रावासमा बसेर सहज रुपमा पढ्न पाउन् भन्ने उद्देश्यका साथ भवन निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले बुटवलकै सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा उत्पीडित विद्यार्थीलाई हरेक वर्ष विद्यालय पोसाक, कापी कलमलगायतका शैक्षिक सामाग्री सहयोग गरेर विद्यालय र विद्यार्थीप्रति आफ्नो दायित्व निर्वाह गर्न गौतम बुद्ध समता समाजलाई सुझाव दिनुभयो । भवन निर्माण सम्पन्न भएपछि अन्य जिल्लाबाट अध्ययनका लगि बुटवल आउने दलित विद्यार्थीलाई बसोबासका लागि सहज हुने दाबी गर्नु भयो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले पढ्न आउने उत्पीडित, उपेक्षित, कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई आवास गृह निर्माण भएपछि उच्च शिक्षामा समेत सहज हुने धारणा ब्यक्त गर्नुभयो । उहाँले दलित समुदायको शैक्षिक स्तर उकास्न आवास गृह कोशेढुंगा साबित हुने विश्वास ब्यक्त गर्नु भयो । गौतम बुद्ध समता समावेशी समाजका अध्यक्ष दीपक विश्वकर्माले बुटवलमा अझैपनि जातीय भेदभाव कायम रहेको र अन्य जिल्लाबाट अध्ययनका लागि बुटवल आउने दलित विद्यार्थीले कोठा नपाएर गाउँ फर्किनु परेकाले उनीहरूले उच्च शिक्षा हासिल गर्न नपाएको बताउनुभयो । 

दलित समुदाय आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडि परेका कारण उनीहरूको शैक्षिक स्तर उकास्न आवास गृहले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा ब्यक्त गर्नु भयो । विश्वकर्माले दुर्गम क्षेत्रबाट पढ्न आउने उपेक्षित, उत्पीडित र कमजोर आर्थिक अवस्था भएका गरिब तथा विपन्न परिवारका विद्यार्थीहरूका निम्ति आवास गृह सहयोगी बन्ने विश्वास ब्यक्त गर्नु भयो । 

बुटवल उपमहानगरपालिका वडा नं.१२ का कार्यवाहक अध्यक्ष गङ्गादत्त पौडेलले उत्पीडित विद्यार्थीहरूलाई आवास गृह निर्माण भएपछि शिक्षामा सहज पहुँच हुने बताउनुभयो । सरस्वती मा.वि. विद्यालयको संरक्षणमा रहेको जग्गामा बन्ने भवनको पहिलो चरणमा कम्पाउण्डको काम हुने र भने दोस्रो चरणमा चार तले सुविधा सम्पन्न आवास गृह भवन निर्माण हुने उहाँको भनाई छ । भवनमा ५० जना छात्रहरू अटाउने गरी भवन निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनु भयो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य कृष्ण सुनार, सुनिता खल्डुङ, वसन्ती विश्वकर्माले कार्यपालिकाबाट पाएको विकास बजेटको लागि क्रमशः रु १०/१० लाख र पाँच लाख रुपैयाँ ऐतिहासिक कार्यमा लगानी गरि उत्पीडित, गरिब, जेहेन्दार विद्यार्थीहरूको लागि केही गर्नुपर्छ भन्ने हेतुले अघि बढेको र आवास गृह निर्माणको लागि सबैको साथ र सहयोग रहेकोमा आभार व्यक्त गर्नु भयो । भवन निर्माणका लागि कुल बजेट २७ लाख ७४ हजार ७ सय ७ रुपैयाँ खर्च लाग्ने बताइएको छ । 

जसमा बुटवल उपमहानगरपालिकाको २५ लाख र गौतमबुद्ध समता समावेशी समाज भवन निर्माण उपभोक्ता समितिबाट २ लाख ७४ हजार ७ सय ७ रुपैयाँ ७८ पैसा अनुदान सहयोगमा आवास गृह निर्माण हुनेछ । भौतिक संरचनालाई ध्यान दिई बहुउद्देश्यीय रूपले भवन प्रयोगमा ल्याउन मिल्ने गरी भवन निर्माण र पार्किङ सहितको अपाङ्गमैत्री, बालमैत्री संरचनासहितको भवन निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button