तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकद्वारा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम अवलोकन  

विराटनगर । ज्येष्ठ नागरिक हातेमालो समाज विराटनगरका ज्येष्ठ नागरिकले रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम विराटनगरको वृत्तचित्र, रेडियो म्युजियम, ई–लाइब्रेरी अवलोकन गर्नुभएको छ । 

रेडियो नेपालको ७४औँ वार्षिकोत्सवको अवसरमा विराटनगरका ज्येष्ठ नागरिकले रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामस्थित वृत्तचित्र, रेडियो म्युजियम, ई–लाइब्रेरी अवलोकन गर्नुभएको हो । 

तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम विराटनगरको सञ्चालक समितिको निर्णय अनुसार गत माघ १६ गते शहीद दिवसको अवसर पारेर सञ्चारग्रामले रेडियो म्युजियम, ई–लाइब्रेरी तथा वृत्तचित्र प्रदर्शनी निःशुल्क सेवा सुरु गरेपछि ज्येष्ठ नागरिकद्वारा अवलोकन गरिएको छ । 

ज्येष्ठ नागरिक हातेमालो समाज विराटनगरका अध्यक्ष जिवेन्द्र घिमिरेले रेडियो नेपालको इतिहास साथै तारिणीप्रसाद कोइरालाको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शनीले इतिहासलाई सम्झाएको बताउनुभयो । नयाँ पुस्तालाई पनि यस्ता रेडियो म्युजियम, इ–लाइब्रेरी तथा वृत्तचित्र अवलोकन गर्न उहाँले आग्रह गर्नुभयो । 

ज्येष्ठ नागरिक हातेमालो समाज विराटनगरका महासचिव खेचराज न्यौपानेले रेडियो इतिहास, साङ्गीतिक क्षेत्र र तारणीप्रसादले रेडियोमा पुर्याएको योगदानका बारेमा जानकारी पाएको बताउनुभयो । 

विराटनगर महानगरपालिका–४ स्थित खार्जीमा सञ्चालन हुँदै आएको तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राममा बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म सर्वसाधारणहरूका लागि खुल्ला गरिएकाले ज्येष्ठ नागरिकले अवलोकन गरिएको सञ्चारग्रामका प्रमुख बलराम चौधरीले जानकारी दिनुभयो । 

रेडियो नेपालको इतिहास साथै तारिणीप्रसाद कोइरालाको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शनी सुरु भएकाले सेवा लिन आउन सरोकारवालाहरूलाई सञ्चारग्रामका प्रमुख चौधरीले आग्रह गर्नुभएको छ । 

यसै क्रममा रेडियो नेपालले संचारग्रामबाट गत भाद्र १५ गतेदेखि महानगर एफएम रेडियो विराटनगर १०३ मेघाहर्जमा बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म प्रसारण गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button