तपाईँ सुन्दै हुनुहुन्छः

एकै खोरमा २ सय ८० वोयर जातका बाख्रा मरे

पोखरा । कास्कीको गाउँपालिका वडा नम्बर १२ मा रहेको एक बाख्रा फार्मको २ सय ८० वटा बाख्रा मरेका छन्।

मादीको लिपेयनीमा रहेको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका २ सय ८० बाख्रा मरेको फार्म सञ्चालक नारायण बरालले बताउनु भयो । उहाँका अनुसार पुष देखि हालसम्म आफ्नो खोरमा रहेका ३ वटा बोका बाहेक सबै जसो बाख्रा मरेका छन्। पछिल्लो समयमा बाख्राहरुले घाँस, दाना, पानी नखाने, सिंगान बगाउने र्याल काट्न थालेपछि बिस्तारै झोक्राउँदै मर्न थालेको सञ्चालक बरालले बताउनुभयो ।

गाँउकै नमुना बाख्रा फार्मको रुपमा पहिचान बनाएको उक्त फार्मबाट गत वर्ष करिब ३८ लाख रुपैयाँ आम्दानी भएकोमा यस बर्ष कम्तीमा ५० लाख आम्दानी गर्ने लक्ष्य रहे पनि बाख्रा मर्नुले आफूहरूलाई ठुलो आर्थिक क्षति भएको सञ्चालक बरालले गुनासो गर्नुभयो । करिब ५ करोडको लागतमा २०७४ बाट फार्म सहित ६ हजार कुखुरा पालन व्यवसायीक रुपमा सञ्चालन गर्नु भएको बरालले ठूलो सङ्ख्यामा बाख्रा मर्दा डेढ करोड क्षति भएको दाबी गर्नु भएको छ ।

पुषमा २२ वटा बाख्रा मरे पनि त्यसको औषधि उपचारले केही समय अन्य बाख्रा मर्न रोकिएको उहाँले बताउनुभयो । माघ देखि पुनः बाख्रा मर्न थालेकोले ल्याब परिक्षण गरी क्रोनिक निमोनिया भएको भनि पशु विज्ञबाट जानकारी भए अनुसार घाँटीबाट इन्जेक्सन दिएको त्यस पछि मर्ने क्रम नरोकिएको सञ्चालक बरालले बताउनुभयो ।

एउटा माउ बाख्रालाई डेढ, दुई लाखसम्म हालेर किनेको बताउँदै उहाँले अष्ट्रेलियन जातको बोएर बाख्रा गाँउमा धेरै किसानहरुले लगेको त केहीले यसबाट अन्य ठाउँमा बाख्रा पालन समेत सुरु गरेको उहाँले जनाउनु भयो । यस फार्मलाई पालिकाले सम्मान स्वरूप दुई वर्ष अघि २ लाख रुपैयाँ दिएको थियो ।

उक्त बाख्राहरू मर्नुको कारण निमोनिया रोग भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराका सूचना अधिकारी डा.गणेश केसीले बताउनुभयो । बाख्राको खोरमा अत्यधिक चिसो हुनु जसका कारण बाख्रामा निमोनिया भई फोक्सोमा असर परेर मरेको हुन सक्ने उहाँको भनाई छ । फार्म सञ्चालकले आफूहरूलाई खबर गरे लगत्तै उहाँको फार्ममा पुगेर अवलोकन गर्दा अधिकांश बाख्रा मरिसकेको अवस्थामा आफूहरू पुगेको डा.केसीले बताउनुभयो  । समयमै आफूहरूलाई खबर गरेको भए उक्त फार्म सञ्चालकले ठुलो क्षति व्यहोर्न नपर्ने उहाँको भनाई छ । उक्त बाख्रामा जुका समेत भेटिएको डा.केसीले बताउनुभयो ।

बाख्रालाई फार्म सञ्चालकहरूले पराल र हल्का स्याउला खुवाउँदा बाख्रालाई आवश्यक पर्ने पोषण तत्त्व समेत कमी भएको हुन सक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button