तपाईँ सुन्दै हुनुहुन्छः

गुजरातलाई ८ विकेटले पराजित गर्दै नेपालको विजयी सुरुवात

काठमाडौँ । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि–२० शृङ्खलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेलमा गुजरात विरुद्ध सहज जित दर्ता गरेको छ ।

नेपालले गुजरातलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात समेत गरेको हो । गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर भेटायो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहँदै २६ बलमा सर्वाधिक ३३ रन बनाए । अनिल शाह ३५ बल खेल्दै ३२ रनमा नटआउट रहे ।

ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र १६ रन बनाए । ३४ रनमा दुवै ओपनर गुमाएपछि रोहित र अनिलले नेपाललाई जित तर्फ डोहोर्याएका थिए । गुजरातका तेजस पटेल र हेमङ पटेलले समान १–१ विकेट लिए ।

त्यसअघि वापीमा टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रनमा समेटिन पुग्यो । गुजरातका लागि ओपनर रुद्र पटेलले २२ बलमा २३ रन जोडे । यस्तै हेमंग पटेलले २३ बल खेलेर २० रन जोडे । अभिषेक देसाइले ११ र स्मित पटेलले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् ।

गुजरातलाई सस्तैमा समेट्न नेपालका गुलशन झाले सर्वाधिक ४ विकेट लिए । यस्तै करन केसीले ३ विकेट लिए । यस्तै सोमपाल कामीले १ विकेट लिए । नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृङ्खला खेल्दै छ । नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा रहेको छ ।

नेपालले हालैमा आयरल्यान्ड वल्भसविरुद्ध दुई टि–२० को शृङ्खला खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । नेपालले सोही शृङ्खलामा खेलेको स्क्वाडलाई गुजरात पठाएको छ । नेपालले प्रतियोगिताको दोस्रो खेलमा अप्रिल २ मा बरोडाविरुद्ध खेल्नेछ । डबल राउण्ड रोबिन ढाँचामा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button